चार समस्याग्रस्त सहकारीका १०५ बचतकर्ताले पाए रकम फिर्ता

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
चार समस्याग्रस्त सहकारीका १०५ बचतकर्ताले पाए रकम फिर्ता

लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका समस्याग्रस्त सहकारीका केही साना बचतकर्ताले रकम पाउन थालेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार सहकारीका १०५ जना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ।

समितिका अनुसार शिव शिखर सहकारीका ३५ जना, ओरिन्टल को–अपरेटिभका २ जना, तुलसी सहकारीका १३ जना र कान्तिपुर सहकारीका ५५ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

विज्ञापन
khoj2

बचत फिर्ताका लागि सरकारले छुट्टै रकम उपलब्ध गराएको भने होइन। समस्याग्रस्त घोषणा भएका सम्बन्धित सहकारीबाट ऋण असुली गरी प्राप्त रकम नै पीडित बचतकर्तालाई वितरण गरिएको सरकारले स्पष्ट पारेको छ।

समितिले पहिलो चरणमा तुलनात्मक रूपमा थोरै रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखेको छ। उपलब्ध रकम र बचतकर्ताको दाबी रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्ताको रकमसमेत फिर्ता गर्ने तयारी छ।

समस्याग्रस्त सहकारीमा फसेको बचत फिर्ता गराउन ऋण असुली मात्र नभई ती संस्थाको सम्पत्ति व्यवस्थापनबाट प्राप्त हुने रकमसमेत प्रयोग गरिँदै आएको छ। प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीबाट उठेको रकम सोही सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

यसपटक १०५ जना साना बचतकर्ताले रकम पाए पनि समस्याग्रस्त सहकारीमा रकम फसेका अन्य बचतकर्ताको हकमा फिर्ताको प्रक्रिया अझै बाँकी छ। समितिका अनुसार ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट रकम जुट्दै जाँदा बचत रकमको आधारमा प्राथमिकता निर्धारण गरी फिर्ता प्रक्रिया अघि बढाइनेछ।