नेपालगन्जमा १०३ ग्राम खैरो हेरोइनसहित भारतीय युवक पक्राउ
भारतबाट नेपाल भित्र्याएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा खैरो हेरोइन बिक्री गर्ने समूहको निगरानीका क्रममा बाँकेमा एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले असोज ६ गते राति करिब १०:४५ बजे नेपालगन्ज उपमहानगरपालिका–१४ मा भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका एक व्यक्तिलाई रोक्ने प्रयास गरेको थियो।
प्रहरीका अनुसार शंका लागेपछि रोक्न खोज्दा ती व्यक्ति मोटरसाइकल नरोकी भागेका थिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको जनाएको छ। त्यसपछि पनि उनी नरोकिएपछि मोटरसाइकलको टायरतर्फ थप दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बहराइच जिल्ला, रुपैडिया थाना अन्तर्गत चकिया रोडका २४ वर्षीय नदिम राई रहेको प्रहरीले जनाएको छ।
उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। यस्तै, भारतीय नम्बर प्लेट UP40J0657 भएको एउटा मोटरसाइकल र एउटा मोबाइल फोनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले भारतको बहराइच क्षेत्रबाट खैरो हेरोइन संकलन गरी नेपाल ल्याउने र लुम्बिनी तथा कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने समूहबारे निगरानी गरिरहेको जनाएको छ। यही निगरानीका क्रममा राई पक्राउ परेको ब्यूरोको भनाइ छ।
पक्राउ परेका राई र बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको लगायतका विषय अनुसन्धानबाट खुल्नेछ।
लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत बरामद भएको परिमाणको खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई कसुरको प्रकृतिअनुसार १५ वर्षदेखि जन्मकैदसम्म र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको जनाएको छ।

