मनकामना केबलकार मंगलबार बन्द, बुधबारदेखि नियमित सञ्चालन
मनकामना मन्दिर जाने यात्रुका लागि सञ्चालन हुँदै आएको मनकामना केबलकार मंगलबार एक दिन बन्द रहने भएको छ। नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले असोज २० गते मंगलबार सेवा रोक्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।
कम्पनीले सूचना जारी गर्दै केबलकारको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि समय–समयमा प्राविधिक मर्मत आवश्यक पर्ने उल्लेख गरेको छ। चाडपर्वको समयमा यात्रुको चाप बढ्ने अवस्थालाई ध्यानमा राख्दै पूर्वनिर्धारित तालिकाअनुसार मर्मतको काम गर्न लागिएको हो।
मंगलबार मर्मतसम्भार सम्पन्न गरेपछि असोज २१ गते बुधबारदेखि केबलकार सेवा पुनः नियमित रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
एक दिन सेवा बन्द रहने भएकाले मनकामना दर्शनका लागि केबलकार प्रयोग गर्ने योजना बनाएका यात्रुलाई आफ्नो यात्रा तालिका सोहीअनुसार मिलाउनुपर्ने भएको छ।

