लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु
लेटाङ नगरपालिका–९ को हात्तीचोकस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा झापाका दुई युवाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १६ गते राति करिब १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चलाइरहेका झापाको घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।
घाइतेहरूलाई दुर्घटनापछि उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर लगिएको थियो।
उपचारकै क्रममा कुमार नेपालीलाई असोज १६ गते राति १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। सन्देश नेपालीको पनि उपचारका क्रममा असोज १७ गते राति १२:०४ बजे मृत्यु भएको हो।
दुर्घटनामा घाइते अमर नेपालीको भने विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

