करिब ८ वर्षपछि फेरि पलायो निर्मला पन्तले न्याय पाउने आशा
करिब ८ वर्षपछि निर्मला पन्त हत्या प्रकरण फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ। जिल्ला र उच्च अदालतको फैसला कार्यान्वयन गर्दै हिजो कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि यो प्रकरण पुनः चर्चामा आएको हो।
यसैबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा २०८२ चैत १४ गते एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा १५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। गृहमन्त्री सुदन गुरुङले पनि निर्मला पन्त प्रकरणमा भित्री रूपमा छानबिन भइरहेको बताएका छन्।
खैर, आज हामी पक्राउ परेका पत्रकार खेम भण्डारी को हुन् र निर्मला पन्त हत्या प्रकरणमा उनको भूमिका के थियो भन्नेबारे हेर्नेछौँ।
खेम भण्डारी को हुन् ? निर्मला पन्त प्रकरणमा उनको भूमिका के थियो ?
भण्डारी लामो समयदेखि पत्रकारितामा सक्रिय रहेर काम गर्दै आएका एक पात्र हुन्। कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका उनी सञ्चालक तथा प्रधान सम्पादक समेत हुन्।
निर्मला पन्तको केसमा पत्रकार भण्डारी यस्ता एक पात्र हुन् कि, उनले लेखेका समाचार र सामाजिक सञ्जालका पोस्टहरूले गर्दा यो केसले नयाँ मोड लिएको देखिन्छ।
त्यसैले धेरैले उनलाई आफ्नो आफन्त जोगाउन निर्मला पन्तको घटना गिजोल्ने पात्रका रूपमा हेर्ने गर्छन्।
तर पत्रकार भण्डारी भने निर्मला पन्तको केसमा एक मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई फसाएर प्रहरीले वास्तविक दोषी उम्काउन खोजेको र आफूले पत्रकारिताको माध्यमबाट यो केसलाई ट्र्याक बाहिर जान नदिएको दाबी गर्छन्।
२०७५ साल साउन १० गते साथीको घरमा होमवर्क गर्न जान्छु भनेर घरबाट निस्केकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परिन्।
त्यसपछि पोस्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रमाणित भयो र प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढायो।
करिब २०–२२ दिनको अनुसन्धानपछि निर्मलाको बलात्कार र हत्या गरेको अभियोगमा प्रहरीले २०७५ कै भदौ २ गते कञ्चनपुरबाट दिलीपसिंह विष्टलाई पक्राउ गर्यो र भदौ ४ गते पत्रकार सम्मेलनमार्फत अभियुक्तका रूपमा सार्वजनिक गर्यो।
तर यही दिनबाट निर्मला पन्तको घटनाले उग्र रूप लिन थाल्यो। जसको मुख्य कारण थियो दिलीपको स्वास्थ्य अवस्था।
निर्मलाको केसमा पक्राउ परेका दिलीप आफ्नै भिनाजुको हत्याको अभियोगमा पक्राउ परेर ९ वर्ष जेल सजाय भोगिसकेका एक पात्र थिए।
तर उनको मानसिक सन्तुलन ठीक थिएन। स्थानीयका अनुसार दिलीप बाटोमा एक्लै बर्बराएर हिँड्ने, केटी देख्दा लजाएर भाग्ने स्वभावका थिए।
जब प्रहरीले निर्मलाको हत्याराका रूपमा दिलीपलाई सार्वजनिक गर्यो, त्यसपछि हिजो पक्राउ परेका पत्रकार भण्डारीले भिआइपीलाई बचाउन एउटा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई प्रहरीले योजनाबद्ध रूपमा बलिको बोको बनाएको भन्दै श्रृंखलाबद्ध रूपमा समाचार प्रकाशन गर्न थाले।
जुन समाचारको प्रभाव कञ्चनपुरमा यति बलियो भयो कि स्थानीयहरू प्रहरी र सरकारविरुद्ध सडकमा निस्किएर आन्दोलन गर्न थाले।
यही बीच प्रहरीले दिलीपलाई २४ दिन हिरासतमा राख्यो। यो २४ दिनमा दिलीपले आफूले नै निर्मलाको बलात्कार गरेको अनि पछि हत्या गरेको स्वीकार गरे, जसको प्रहरीले भिडियो समेत बनाएको थियो।
२४ दिनभित्र निर्मलाको बलात्कार र हत्या गर्ने पात्र दिलीप नै हो भनेर प्रहरीले लगभग पूर्ण प्रतिवेदन नै तयार पार्यो। तर जब मुद्दा अदालतमा पुग्यो तब नयाँ तथ्य बाहिर आयो।
निर्मला पन्तको यौनाङ्गबाट लिएको ‘भेजाइनल स्वाब’ (Vaginal Swab) मा भेटिएको पुरुषको शुक्रकीट अर्थात् डीएनए र दिलीपसिंह विष्टको रगतबाट निकालिएको डीएनए परीक्षण गर्दा ती दुईबीच पिटिक्कै मेल खाएन।
डीएनए रिपोर्ट पूर्ण रूपमा नेगेटिभ आयो।
यति भएपछि प्रहरीले हालसम्म गरेको अनुसन्धानको कुनै काम लागेन र दिलीप रिहा भए।
रिहा भएपछि दिलीपले हिरासतमा हुँदा प्रहरीले टर्चर गरेर जबर्जस्ती आफूलाई उक्त अपराध स्वीकार गर्न लगाएको आरोप लगाए।
त्यसपछि किन पत्रकार खेम भण्डारीमाथि मुद्दा पर्यो ?
यही बीचमा पत्रकार भण्डारीले आफ्नो सञ्चार माध्यममार्फत यो केसलाई केही भिआइपीसँग जोड्न थाले।
निर्मला केसमा तत्कालीन एसपी अर्थात् कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरण विष्टलाई यो केसमा ताने।
पत्रकार भण्डारीको मुख्य आरोप भने एसपीले आफ्नो छोरा जोगाउन दिलीपलाई फसाएको र प्रहरीले अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्ने थियो।
त्यसपछि पत्रकार भण्डारीको यो कुराले एक किसिमको जनआक्रोश पैदा गरायो र भिआइपीलाई जोगाउन प्रहरीले एक निर्दोषलाई फसायो भन्ने भाष्य देशैभर सिर्जना हुँदै गएर अन्ततः निर्मला पन्त प्रकरण राष्ट्रिय मुद्दा बन्यो।
त्यसपछि प्रहरीले पत्रकार भण्डारी र दिलीपबीचको सम्बन्ध केलाउँदै जाँदा उनीहरू आफन्त रहेको कुरा फेला पार्यो।
त्यसपछि आफ्नो मान्छे जोगाउन भण्डारीले निर्मला पन्तको केसलाई बिना प्रमाण भिआइपीसँग जोडेर गिजोल्न खोजेको भन्ने आरोप लाग्न थाल्यो।
त्यसपछि पत्रकार भण्डारीविरुद्ध विभिन्न मुद्दाहरू अदालतमा दर्ता हुन थाले।
सबैभन्दा पहिले कञ्चनपुर जिल्ला बार एसोसिएसनले अदालतमा मुद्दा विचाराधीन रहेकै बेला भण्डारीले पत्रिकामार्फत जथाभावी लेखेको भन्दै अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर गर्यो।
त्यसपछि अदालतले यो मुद्दामा दोषी ठहर गर्दै पत्रकार भण्डारीलाई १ रुपैयाँ जरिवाना र १ घण्टाको जेल सजाय सुनायो।
त्यसपछि पत्रकार भण्डारीले निर्मला पन्तको केसमा मुछिदिएका तत्कालीन एसपीका छोरा किरणराज विष्टले बिना कुनै प्रमाण र आधार आफ्नो नाम जोडेर चरित्र हत्या गरेको भन्दै भण्डारीविरुद्ध मुद्दा दर्ता गरे।
यो मुद्दामा २०८२ को जेठमा पत्रकार भण्डारीलाई दोषी मान्दै कञ्चनपुर जिल्ला अदालतले उनलाई १ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडित किरणलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गर्यो।
जिल्ला अदालतले यस्तो फैसला गरेपछि पत्रकार भण्डारी आफू निर्दोष रहेको र यो प्रेस स्वतन्त्रतामाथिको हमला हो भन्दै जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासमा पुनरावेदन गर्न पुगे।
तर २०८२ चैतमा उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्दै उल्टै ७ दिन कैद र २१०० रुपैयाँ जरिवाना थप गरिदियो।
यसपछि जिल्ला र उच्च अदालतको फैसला जोड्दा पत्रकार खेम भण्डारीविरुद्ध १ महिना ७ दिन जेल सजाय, १२ हजार १०० रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति हुने फैसला कायम भयो।
हो, दुवै अदालतले गरेको यही फैसलाको कार्यान्वयनस्वरूप हिजो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गरायो र आवश्यक प्रक्रिया पूरा गरेर कारागार चलान गरेको छ। यता, खोज समाचारले पनि लामो समयदेखि निर्मला पन्त प्रकरणलाई निरन्तर उठाउँदै आएको छ। यसअघि गृहमन्त्री सुदन गुरुङलाई प्रश्न: निर्मला पन्तको फाइल कहिले खुल्छ? शीर्षकमा विशेष अभियान सञ्चालन गर्दै निर्मला पन्तको फाइल पुनः खोल्न र अनुसन्धानलाई प्राथमिकतामा राख्न सरकारसँग निरन्तर माग गरेको थियो।
अहिले पत्रकार खेम भण्डारीको पक्राउ, नयाँ छानबिन समिति गठन र निर्मला प्रकरणमाथि फेरि बहस सुरु भएसँगै करिब ८ वर्षदेखि न्यायको प्रतीक्षामा रहेको यो घटनाले अन्ततः निष्कर्ष पाउला कि भन्ने आशा फेरि एकपटक पलाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
पेट्रोलपम्प बन्द गर्नेलाई अब १० लाखसम्म जरिवाना, १५ दिन आपूर्ति रोक्का
सुस्ताबासीको पीडामा मौन नबसौँ
सरकारलाई सुझाव: लाखौँ जरिवाना होइन, डिजिटल ट्राफिक सिस्टम
कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका डम्बर तामाङ पक्राउ
आज असार १५: देशभर धान रोपाइँसँगै दही–चिउरा खाने पर्व मनाइँदै
नयाँ ट्राफिक विधेयक: ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवाना
कुर्सीको लडाइँले बर्बाद बनायो नेपाली फुटबलको भविष्य, अब पनि नबोले कहिले?