तपाईं हामीले सोचेको डिजिटल नेपालको सुरुवात अब बिस्तारै हुँदैछ। केही दिनअघि हामीले ‘MOFA Mitra’ एपको बारेमा कुरा गरेका थियौं, जसबाट विदेशमा रहेका नेपालीहरूले आफ्ना समस्या मोबाइल एपमार्फत सरकारसमक्ष पुर्याउन सक्थे।
आज हामी अर्को यस्तो एपको बारेमा कुरा गर्दैछौं, जसको माध्यमबाट तपाईं नेपालको जुनसुकै कुनामा भए पनि र तपाईंलाई जस्तोसुकै समस्या परेको भए पनि तुरुन्तै र सहज रूपमा प्रहरीलाई उजुरी गर्न सक्नुहुन्छ।
यति मात्र होइन, तपाईंले गरेको उजुरीमा के प्रक्रिया भइरहेको छ वा छैन भन्नेबारे च्याटमार्फत प्रहरीसँग प्रत्यक्ष कुराकानी समेत गर्न सक्नुहुन्छ।
यसका लागि तपाईंलाई प्रहरी चौकीको फोन नम्बर, ठेगाना वा अन्य कुनै जानकारी आवश्यक पर्दैन। तपाईंको मोबाइलमा एउटा एप डाउनलोड भएको हुनुपर्छ।
बस, त्यही एपमार्फत तपाईंले नेपालभर जुनसुकै स्थानमा भइरहेको अपराध, दुर्घटना वा आफूलाई परेको समस्या नजिकको प्रहरी कार्यालयमा तुरुन्तै उजुरी गर्न सक्नुहुन्छ।
कसरी गर्ने उजुरी ?
यसका लागि तपाईंको मोबाइलमा हुनुपर्ने एपको नाम हो — Nepal Police
गुगल प्ले स्टोर वा एप स्टोरमा गएर Nepal Police सर्च गर्नुहोस्। त्यसपछि उक्त एप डाउनलोड गरी सुरुमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र इमेल राखेर खाता बनाउनुहोस्।
त्यसपछि आफ्नो इमेल र पासवर्ड प्रयोग गरेर लगइन गर्नुहोस्। लगइन गरेपछि पहिलो नम्बरमा रहेको ‘उजुरी तथा निवेदन’ भन्ने विकल्पमा क्लिक गर्नुहोस्।
त्यसपछि यहाँ विभिन्न प्रकारका उजुरीका विकल्पहरू देखिन्छन्। जस्तै सवारी दुर्घटना, चोरी वा लुटपाट, घरेलु हिंसा, प्राकृतिक विपद्, लागूऔषध ओसारपसार, हराएका व्यक्ति लगायतका विषयहरू।
यदि तपाईंको समस्या उक्त सूचीमा नभए ‘अन्य उजुरी’ भन्ने विकल्पमा क्लिक गर्न सक्नुहुन्छ।
त्यसपछि माथिको बक्समा आफ्नो समस्या विस्तृत रूपमा लेख्नुहोस्। त्यसपछिको चरणमा घटना भएको वा समस्या परेको स्थान छनोट गर्नुपर्ने हुन्छ।
स्थान छनोट गर्ने बित्तिकै तपाईंको मोबाइलमा गुगल म्याप खुल्छ। यदि तपाईंले एपलाई लोकेसन अनुमति दिनुभएको छ भने एपले स्वतः तपाईंको स्थान पहिचान गर्छ। नभए माथिको सर्च बार प्रयोग गरेर स्थान खोज्न सक्नुहुन्छ।
स्थान छनोट गरेपछि तल रहेको ठीक चिन्हमा क्लिक गर्नुहोस्।
त्यसपछि फोटो, भिडियो वा अडियो अपलोड गर्ने विकल्प आउँछ। उजुरीसँग सम्बन्धित प्रमाणहरू भए ती अपलोड गर्नुहोस् र अन्त्यमा ‘Submit’ बटनमा क्लिक गर्नुहोस्।
उजुरीको अवस्था एपमै हेर्न सकिने
उजुरी सबमिट गरेपछि तपाईंले चयन गर्नुभएको स्थानअनुसार उक्त उजुरी नजिकको प्रहरी कार्यालयमा पुग्छ।
त्यहाँ रहेको प्रहरी टोलीले उजुरी अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।
त्यसपछि तपाईंले गरेको उजुरीको अवस्था के भइरहेको छ भन्ने जानकारी लिन एपको होम स्क्रिनमा गएर दोस्रो नम्बरमा रहेको ‘मेरा उजुरीहरू’ भन्ने विकल्पमा क्लिक गर्न सक्नुहुन्छ।
त्यहाँ तपाईंले गरेका सबै उजुरीहरूको सूची, तिनको अवस्था तथा पछिल्ला अपडेटहरू देख्न सक्नुहुन्छ।
त्यसको दाहिनेपट्टि रहेको म्यासेज बक्समा क्लिक गरेर सम्बन्धित उजुरीबारे प्रहरीसँग च्याटमार्फत सोधपुछ समेत गर्न सकिन्छ।
खैर, नेपाल प्रहरीले सुरु गरेको यो सेवा निकै प्रशंसनीय छ। अब यो प्रणालीमार्फत आएका उजुरीलाई देशभरका प्रहरी कार्यालयहरूले कति छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्छन् भन्ने कुरा भने आगामी दिनमा देखिनेछ।
तर जे होस्, डिजिटल सेवातर्फको यो सुरुवात भने निकै सकारात्मक र स्वागतयोग्य छ।
एपको दुरुपयोग नगर्नुहोस्
अन्त्यमा, यो एपको दुरुपयोग नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ।
किनकि यो प्रणालीले प्रयोगकर्ताको मोबाइलसँग सम्बन्धित प्राविधिक विवरण समेत सुरक्षित राख्ने भएकाले गलत वा झुटो जानकारी दिएर उजुरी गरेमा सम्बन्धित व्यक्तिको पहिचान गर्न प्रहरीलाई सहज हुन सक्छ।
त्यसैले झुक्किएर पनि झुटा उजुरी वा गलत सूचना दिएर यसको दुरुपयोग नगर्नुहोला।