मोफा मित्र एप के हो र यसलाई कसरी प्रयोग गर्ने ?

Read this article also in : English

लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको समस्या समाधानका लागि प्रभावकारी डिजिटल प्रणाली आवश्यक रहेको विषय उठाउँदै आएको खोज समाचारको अभियानबीच नेपाल सरकारले “MoFA Mitra” नामक मोबाइल एप सार्वजनिक गरेको छ।

विदेशमा रहेका नेपाली नागरिक ठगीमा पर्ने, अलपत्र पर्ने, उद्धारका लागि हारगुहार गर्नुपर्ने, विदेशमै मृत्यु हुँदा शव नेपाल ल्याउन कठिनाइ हुने लगायतका समस्या निरन्तर बढिरहेका बेला खोज समाचारले यस विषयलाई पटकपटक उठाउँदै आएको थियो। विशेषगरी विदेशमा रहेका नेपालीका लागि डिजिटल गुनासो तथा सहायता प्रणाली आवश्यक रहेको विषयमा खोज समाचारले रिपोर्ट, भिडियो तथा जनचेतनामूलक सामग्रीमार्फत अभियान नै सञ्चालन गर्दै आएको थियो।

यहीबीच सरकारले अब एउटै मोबाइल एपमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई विभिन्न सेवा उपलब्ध गराउने गरी “MoFA Mitra” एप सञ्चालनमा ल्याएको हो।

एपमा उपलब्ध छन् ८ प्रकारका सेवा

सरकारले सार्वजनिक गरेको “MoFA Mitra” एपमा हाल आठ प्रकारका मुख्य सेवा समावेश गरिएको छ। एपमार्फत विदेशमा हराएका वा सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा उद्धारसम्बन्धी निवेदन दिन सकिनेछ। त्यसैगरी विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव व्यवस्थापनसम्बन्धी प्रक्रिया पनि यही एपमार्फत सुरु गर्न सकिने व्यवस्था गरिएको छ।

एपमा बिमा तथा क्षतिपूर्ति सम्बन्धी उजुरी दर्ता गर्ने सुविधा राखिएको छ भने वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो तथा समस्या पनि यही प्रणालीमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी प्रयोगकर्ताले आफूले दिएको गुनासोको अवस्था ट्र्याक गर्न सक्ने सुविधा पनि एपमा उपलब्ध छ। साथै विभिन्न देशमा रहेका नेपाली दूतावास तथा नियोगको फोन नम्बर, इमेल, ठेगाना लगायत सम्पर्क विवरण पनि एपभित्र समावेश गरिएको छ।

विदेशमा अलपत्र परे के गर्ने, आफन्त जेलमा परे के गर्ने, विदेशमा मृत्यु भए शव नेपाल कसरी ल्याउने लगायतका विषयमा प्रश्न–उत्तर सुविधा पनि एपमा राखिएको छ। साथै विभिन्न देशमा यात्रा गर्दा अपनाउनुपर्ने सावधानीसम्बन्धी “Travel Advisory” सेवा पनि उपलब्ध गराइएको छ।

एप कसरी डाउनलोड गर्ने ?

यो एप प्रयोग गर्न सुरुमा गुगल प्ले स्टोर वा एप स्टोरमा गएर “MoFa Mitra” सर्च गरी डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरेपछि एपभित्र उपलब्ध कुनै पनि सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो राहदानी नम्बर र जन्ममिति अंग्रेजीमा प्रविष्ट गर्नुपर्नेछ।

सिस्टमले राहदानी नम्बर तथा जन्ममिति प्रमाणित गरेपछि प्रयोगकर्ताको नाम तथा लिङ्ग स्वतः देखाउनेछ। त्यसपछि प्रयोगकर्ताले आफ्नो नेपालको स्थायी ठेगाना भर्नुपर्ने हुन्छ। यसअन्तर्गत प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका तथा वडा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसपछि “Next” बटनमा क्लिक गरेपछि अर्को इन्टरफेस खुल्नेछ। त्यहाँ प्रयोगकर्ताले आफू हाल रहेको देश छनोट गर्नुपर्नेछ। देश छनोट गरेसँगै सम्बन्धित नेपाली दूतावास वा सहायता केन्द्र स्वतः चयन हुने व्यवस्था गरिएको छ। यदि स्वतः चयन नभए प्रयोगकर्ताले आफू नजिकको दूतावास वा सहायता केन्द्र आफैं छनोट गर्न सक्नेछन्।

त्यसपछि विदेश गएको मिति तथा विदेश जानुको कारण उल्लेख गर्नुपर्नेछ। रोजगारी, अध्ययन, भ्रमण लगायत विभिन्न विकल्पमध्ये आफूलाई लागू हुने कारण चयन गर्न सकिने व्यवस्था गरिएको छ।

गुनासो दर्ता गर्न के–के गर्नुपर्छ ?

एपको अर्को चरणमा प्रयोगकर्ताले आफू कार्यरत कम्पनी वा आफू हाल बसिरहेको स्थानको पूरा ठेगाना उल्लेख गर्नुपर्नेछ। कम्पनीको नाम, फोन नम्बर, कम्पनी आइडी तथा नजिकको सम्पर्क व्यक्तिको नम्बर समेत आवश्यक परे भर्न सकिने व्यवस्था गरिएको छ।

त्यसपछि निवेदन आफूले आफ्नै लागि भर्दै हो वा अरू कसैका लागि भन्ने जानकारी दिनुपर्नेछ। यदि आफ्नै लागि निवेदन दिइरहेको हो भने “Self” विकल्प चयन गर्दा प्रणालीले विवरण स्वतः राख्नेछ। अरू व्यक्तिका लागि निवेदन दिँदा सम्बन्धित व्यक्तिको नाम, ठेगाना, सम्बन्ध तथा सम्पर्क नम्बर भर्नुपर्ने व्यवस्था गरिएको छ।

अन्तिम चरणमा प्रयोगकर्ताले आफ्नो समस्या वा गुनासो विस्तृत रूपमा उल्लेख गर्नुपर्नेछ। त्यसपछि राहदानीको फोटो, सम्बन्धित व्यक्तिको फोटो तथा अन्य प्रमाणहरू अपलोड गर्न सकिनेछ। सबै प्रक्रिया पूरा गरेपछि “Submit” बटन थिच्दा गुनासो आधिकारिक रूपमा सरकारको प्रणालीमा दर्ता हुनेछ।

निवेदनको अवस्था पनि ट्र्याक गर्न सकिने

एपमार्फत दर्ता गरिएको निवेदनको अवस्था पनि सजिलै हेर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि एपको मुख्य स्क्रिनमा रहेको “निवेदनको स्थिति” विकल्पमा क्लिक गर्नुपर्नेछ। त्यसपछि राहदानी नम्बर र सम्बन्धित दूतावास वा सेवा केन्द्र चयन गरेर “Search” बटन थिचेपछि निवेदनको अवस्थाबारे जानकारी प्राप्त गर्न सकिनेछ।

यसबाट गुनासो सुनुवाइ भयो वा भएन, प्रक्रिया कहाँसम्म पुग्यो लगायतका अद्यावधिक विवरण हेर्न सकिने बताइएको छ।

खोज समाचारले लामो समयदेखि उठाउँदै आएको थियो डिजिटल प्रणालीको आवश्यकता

विदेशमा रहेका नेपाली नागरिकका समस्या समाधान गर्न सरकारले डिजिटल माध्यममार्फत गुनासो सुन्ने, उद्धार समन्वय गर्ने तथा आपत्कालीन सहायता उपलब्ध गराउने प्रणाली आवश्यक रहेको विषयमा खोज समाचारले लामो समयदेखि अभियान चलाउँदै आएको थियो।

हेर्नुहोस् खोज समाचारले सुरु गरेको अभियानका सम्बन्धित रिपोर्टहरू:

खोज समाचारले वैदेशिक रोजगारीमा हुने ठगी, अलपत्र परेका नेपाली, विदेशमा मृत्यु भएका नागरिकको शव नेपाल ल्याउँदा हुने कठिनाइ तथा सरकारी पहुँचको अभावजस्ता विषयमा लगातार रिपोर्ट सार्वजनिक गर्दै आएको थियो। साथै सरकारले डिजिटल गुनासो प्रणाली ल्याउनुपर्ने मागसहित विभिन्न भिडियो तथा समाचारमार्फत युवामाझ अभियान सञ्चालन गरिएको थियो।

अब सरकारले “MoFA Mitra” एप सार्वजनिक गरेपछि यसलाई उक्त अभियानको पहिलो ठोस उपलब्धिका रूपमा समेत हेरिएको छ।

एपमा देखियो केही प्राविधिक समस्या

एप सार्वजनिक भएसँगै केही प्रयोगकर्ताले प्राविधिक समस्या पनि औंल्याएका छन्। विशेषगरी आइफोन प्रयोगकर्ताले मोबाइलको किबोर्ड खुलेपछि बन्द गर्न कठिन हुने समस्या देखिएको प्रतिक्रिया दिएका छन्। जसका कारण एपको तलको भागमा रहेका केही फारम पूरा गर्न असहज भएको गुनासो आएको छ।

यद्यपि एप भर्खरै सार्वजनिक भएकाले आगामी दिनमा यसलाई थप अपडेट गर्दै नयाँ सेवा थप्ने र अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै परराष्ट्र मन्त्रालय तथा श्रम मन्त्रालयले एपमार्फत आउने प्रत्येक गुनासो समाधान गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%
😊
खुसी
2%
😢
दुःखी
2%
🤔
अचम्मित
19%
😆
उत्साहित
0%
😡
आक्रोशित
Google Add as preferred on Google