नेपाली जनताले यति धेरै आशा र अपेक्षा बोकेको सरकारमा मन्त्री बनेको ७८औँ दिनसम्म पनि देखिने र महसुस हुने गरी खासै काम गर्न नसकेका श्रममन्त्री रामजी यादवले आफ्नै पार्टीको केन्द्रीय सदस्यको निर्वाचनमा लज्जास्पद हार बेहोर्नु परेको छ।
यादवले जन अपेक्षा अनुसार काम गर्न सकेनन्। त्यसैले रास्वपा र बालेन सरकारले छिटोभन्दा छिटो श्रममन्त्री फेर्नै पर्छ भनेर कारण र व्याख्यासहित खोज समाचारले जुन ९ र जुन ११ मा दुईवटा विस्तृत भिडियो तथा समाचार प्रकाशित गरिसकेका थियौँ।
बालेन सरकार गठन भएको आज ९२ दिन पूरा हुँदैछ। सरकार बनेको १०० दिनभित्र थुप्रै काम पूरा गर्ने वाचा यो सरकारले जनतामाझ गरेको छ। तर क्याबिनेटका केही मन्त्रीहरू एक्सन-ओरिएन्टेड र नतिजा दिन सक्ने नहुँदा बालेन सरकारलाई नै असफल बनाउने खतरा दिनदिनै बढिरहेको छ।
रास्वपाले फागुन २१ को निर्वाचनमा १८२ सिट ल्याउनुमा सबैभन्दा ठूलो हात वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको छ। एक शब्दमा भन्नुपर्दा रास्वपाको ब्याकबोन नै विदेशमा रहेका नेपालीहरू हुन्।
तर यही करोडौँ विदेशमा रहेका नेपालीहरूलाई समस्या पर्दा प्रत्यक्ष रूपमा जोडिने मन्त्रालय अर्थात् श्रम मन्त्रालयका मन्त्री रामजी यादवले यो ७८ दिनसम्म देखिने गरी खासै काम गर्न सकेका छैनन्।
एउटै सरकारमा मन्त्री बनेका सुदन गुरुङले आफ्नो मन्त्रालय र त्यससँग सम्बन्धित क्षेत्रमा पछिल्ला तीन महिनाभित्र व्यापक सुधार गरेका छन्। तर यादवको मन्त्रालयले भने आजसम्म २–३ वटा म्यानपावर कम्पनीमा छापा मार्नुबाहेक अरू काम गरेको जनताले सुन्न पाएका छैनन्।
त्यसैले बालेन सरकारलाई सफल बनाउन, वैदेशिक रोजगारीको नाममा हुने अर्बौँको ठगी धन्दा रोक्दै ती ठगहरूलाई कानुनअनुसार कारबाही गर्न तथा विदेशमा रहेका करोडौँ नेपालीहरूको अपेक्षा पूरा गर्न रास्वपा र बालेन दुवैले कतिपनि ढिलाइ नगरी श्रममन्त्री फेर्नै पर्छ।
पार्टी निर्वाचनमा हार र नैतिक प्रश्न
यससँगै पार्टीको केन्द्रीय सदस्यको निर्वाचन हारेपछि मन्त्री यादव नैतिक संकटमा परेका छन्। रास्वपा महाधिवेशनमा यादवसहित अन्य ८ जना मन्त्रीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। जसमध्ये बाँकी ७ जना निर्वाचित भए भने श्रममन्त्री यादव मात्र केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन्।
हुन त पार्टीको केन्द्रीय सदस्यको चुनाव हार्दैमा मन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै कानुनी व्यवस्था छैन। किनकि उनी फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष तथा मधेशका प्रभावशाली नेता सीके राउतलाई हराएर सांसद बनेका व्यक्ति हुन्।
त्यसैले पार्टीको केन्द्रीय सदस्यमा पराजित भए पनि मन्त्री हुन पाउने कानुनी अधिकार उनको पूर्ण रूपमा सुनिश्चित छ। तर राजनीतिमा कानुनसँगसँगै अर्को एउटा पाटो पनि हुन्छ, जसलाई नैतिकता भनिन्छ।
नेपालको राजनीतिमा यस्तै एउटा पुरानो नजिर पनि छ।
२०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बहालवाला रक्षामन्त्री मिनेन्द्र रिजालले शेखर कोइरालाको समूहबाट महामन्त्री पदमा निर्वाचन लडेका थिए। महामन्त्री पदको मतगणना हुँदा गगन थापा र विश्वप्रकाश शर्माले विजय हासिल गरे भने डा. रिजाल निकै कम मत ल्याएर पाँचौँ स्थानमा सीमित भए।
प्रारम्भिक नतिजाबाटै आफ्नो हार निश्चित भएपछि उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरिसकेका थिए। अन्तिम नतिजा सार्वजनिक हुनासाथ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रक्षामन्त्री पदबाट राजीनामा बुझाएका थिए।
राजीनामा दिँदा रिजालले भनेका थिए:
“कांग्रेस महाधिवेशनको चुनावी परिणामले पार्टीभित्र मेरो आधार सङ्कुचित भएको स्पष्ट सन्देश दिएको छ। यस्तो अवस्थामा मन्त्री पदमा बसिरहनु मेरो नैतिकताले दिँदैन।”
अब हिजो कांग्रेसका मन्त्रीले जे गरे, रास्वपाका मन्त्रीले पनि त्यही गर्नुपर्छ भन्ने होइन। तर नेपालको राजनीतिमा पार्टीको आन्तरिक निर्वाचन हारेपछि मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएको नजिर स्थापित भएकाले यसले मन्त्री यादवलाई पनि अवश्य घोच्ने देखिन्छ।
श्रम मन्त्रालयको कार्यसम्पादन किन प्रश्नमा?
खैर, पार्टीको आन्तरिक चुनावमा हार बेहोर्नु एउटा सानो पाटो मात्र हो। योभन्दा ठूलो पाटो भनेको मन्त्री बनेको ७८औँ दिनसम्म पनि जनताले देख्ने र महसुस गर्ने गरी नतिजा दिन नसक्नु हो।
किनकि आजको दिन नेपालमा सबैभन्दा बढी भ्रष्टाचार, लुट र ठगी भइरहेको क्षेत्रमध्ये एक वैदेशिक रोजगारी पनि हो।
नेपालबाट दैनिक ४–६ हजारको हाराहारीमा मानिसहरू कामका लागि विदेश गइरहेका छन्। तर दुःखका साथ भन्नुपर्छ, तीमध्ये दैनिक आधाभन्दा बढी नेपाली विभिन्न प्रकारका ठगीमा परिरहेका छन्।
कोही एजेन्ट र म्यानपावरबाट नेपालमै ठगिन्छन् भने कोही विदेश पुगिसकेपछि पाइला-पाइलामा ठगिन्छन्। १० हजारमा हुने प्रक्रिया पूरा गर्न ३–५ लाख रुपैयाँसम्म तिरेर खाडी मुलुक जान बाध्य छन् नेपाली नागरिक।
विदेश पुगेपछि पनि यहाँ भनिएजस्तो काम नपाउने, काम पाए पनि तलब नपाउने, कतिपय महिलाहरू बेचिनुपर्ने अवस्था आउने, यहाँसम्म कि घर फर्किन टिकट काट्दा समेत मलेसियामा नेपाली नागरिक ठगिनुपरेको घटना केही समयअघि मात्रै खोज समाचारले बाहिर ल्याएको थियो।
यति धेरै विकृति र विसंगति भएको यस क्षेत्रलाई समेट्ने मुख्य मन्त्रालय अर्थात् श्रम मन्त्रालयमा यादवको ढिलासुस्ती तथा प्रभावकारी प्रणाली विकास गर्न नसक्दा नागरिकहरू दिनदिनै ठगिनु परिरहेको छ।
त्यसैले यी सबै कुरालाई मध्यनजर गर्दा श्रममन्त्री रामजी यादवले आफ्नो राजनीतिक नैतिकता देखाउँछन् वा देखाउँदैनन्, त्यो हेर्न बाँकी छ।
तर उनले नैतिकता नदेखाए पनि रास्वपाले उनलाई फिर्ता बोलाएर श्रम मन्त्रालयमा काम गर्न सक्ने अर्का सांसदलाई मन्त्री बनाउनु पर्छ भन्ने हाम्रो धारणा छ। र यो आजको कुरा होइन। खोज समाचारले पटकपटक यो विषय उठाउँदै आएको छ। हाम्रो नजरमा हालका लागि श्रम मन्त्रालयको सबैभन्दा उपयुक्त पात्र बागलुङबाट निर्वाचित सोम शर्मा हुन्।
अब खोज समाचारको नजरमा सोम शर्मा किन उपयुक्त पात्र हुन् भन्नेबारे खोज समाचारले तयार पारेको यो विस्तृत रिपोर्ट हेर्न सक्नुहुन्छ।