वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई पूर्ण रूपमा रोकेर पीडितहरूलाई न्याय दिन यदि सरकारले चाह्यो भने आगामी १ वर्षभित्र सहजै गर्न सक्छ। तर त्यसका लागि श्रम मन्त्री गतिलो, एक्सन-ओरिएन्टेड र दम भएको चाहिँ हुनैपर्छ।
आजको यो अभियान विशेष गरी रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूका लागि हो। यदि तपाईं चाहनुहुन्छ कि आगामी ५ वर्षमा बालेन सरकारले यो देशको मुहार फेरोस् अनि रास्वपाले पाएको यो ऐतिहासिक जनमत साँच्चै सफल होस् भन्ने, त्यसो भए आजको हाम्रो कुरा ध्यान दिएर पढ्नुहोस् ।
प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरू पनि सक्षम हुनुपर्छ
कुरा एकदम सिधा छ। बालेन सरकार सफल हुनका लागि प्रधानमन्त्री मात्र गतिलो भएर हुँदैन, बाँकी सबै मन्त्रीहरू पनि प्रधानमन्त्रीजस्तै काम गर्ने हुटहुटी र हिम्मत भएका हुनुपर्छ।
किनकि जब मन्त्रालयको मन्त्री गतिलो हुन्छ, अनि बल्ल त्यो पूरा मन्त्रालय गतिलो बन्छ। उदाहरणका लागि सुदन गुरुङलाई हेरे पुगिहाल्छ।
अहिलेका श्रम मन्त्री रामजी यादव मन्त्री बनेको झन्डै २ महिना पूरा भयो। तर यो २ महिनामा श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूको हितमा देखिने गरी कुनै पनि काम गरेको सुन्नु वा देख्नुभएको छ?
धेरै पर्दैन, एउटा गतिलो कुनै काम हामीले आजसम्म थाहा पाएका छैनौँ। हाम्रो देशको अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेका हामीजस्ता नेपालीहरूले पठाएको रेमिट्यान्स हो।
यदि हामीले २–४ वर्ष रेमिट्यान्स बन्द गरिदिने हो भने देशको अर्थतन्त्र धराशायी बन्ने पक्का छ। अझ यति मात्र होइन, पहिलेको २१ सिटेबाट अहिलेको यो विशाल रास्वपा बनाउन सबैभन्दा ठूलो भूमिका पनि हामी विदेशमा रहेका तमाम युवाहरूको नै छ।
तर हामी विदेशमा रहेका वा अब विदेश जान चाहने युवाहरू नै सबैभन्दा बढी पीडित छौँ। हरेक घण्टा एक न एक जना वैदेशिक रोजगारीको नाममा ठगिइरहेका हुन्छौँ।
तर हाम्रो समस्या सुनिदिने मुख्य मन्त्रालय अर्थात् श्रम मन्त्रालयमा गतिलो मन्त्री भएन। त्यसैले सम्पूर्ण रास्वपाका नेता तथा कार्यकर्तालाई हाम्रो अनुरोध छ।
सामाजिक सञ्जालबाट श्रम मन्त्री फेर्नुपर्यो भनेर बालेन सरकारलाई सुझाव, आग्रह र दबाब सिर्जना गरौँ। यसरी सञ्जालमार्फत दबाब सिर्जना गर्नु भनेको आफ्नो पार्टीको विरोध गर्नु होइन, बरु काम गर्न सक्ने सही व्यक्तिलाई श्रम मन्त्रालयमा पुर्याएर बालेन सरकारलाई सफल बनाउन सहयोग गर्नु हो।
किन आवश्यक छ श्रम मन्त्रालयमा सक्षम नेतृत्व?
एकपटक सोच्नुस् त, आगामी १ वर्षभित्र वैदेशिक रोजगारीमा हुने ठगी पूर्ण रूपमा रोक्ने सिस्टम बनाउन सकियो र आजसम्म जति पनि पीडित छन्, उनीहरूलाई न्याय दिलाउन सकियो भने यसको सबैभन्दा ठूलो फाइदा र जस कसलाई जान्छ?
रास्वपा र बालेन सरकारलाई नै होइन त?
हो, त्यसैले हाम्रो यो अभियानमा सहयोग गर्नुहोस्। किनकि हामी वैदेशिक रोजगारीको विद्यमान समस्यालाई जरैबाट उखेलेर फ्याल्ने अभियानमा छौँ।
हामी अर्थात् खोज समाचारसँग समस्या देखाउने र सुनाउने मात्र होइन, यसलाई समाधान गर्न सक्ने उपाय, तरिका र प्रविधि पनि छ।
त्यसैले रास्वपाबाट निर्वाचित १८२ जना सांसदमध्ये श्रम मन्त्रालयका लागि एकदमै उपयुक्त पात्र हुन् बागलुङबाट निर्वाचित सांसद सोम शर्मा।
सोम शर्मा नै किन?
अब हेरौँ, सोम शर्मा नै किन?
तपाईंहरूलाई अवगत नै छ, यो निर्वाचनको अवधिदेखि आजसम्म हामीले अर्थात् खोज समाचारले महावीर पुनबाहेक अन्य कुनै पनि राजनीतिक व्यक्तिको पक्षमा यसरी खुलेर समर्थन गरेका छैनौँ।
सोम शर्मासँग पनि हाम्रो व्यक्तिगत वा संस्थागत कुनै स्वार्थ छैन। तर वैदेशिक रोजगारीमा दैनिक बढिरहेको ठगी र उक्त ठगीबाट पीडित बनेका नागरिकहरूको पीडा खोज समाचारले नजिकबाट देखेको, सुनेको र महसुस गरेको छ।
यही पीडालाई महसुस गरेर खोज समाचारले यसको समाधान गर्ने पूरा रोडम्याप र प्रविधिको पनि विकास गरिसकेको छ। तर हामी सरकार होइनौँ, हामीसँग ठगहरूलाई कारबाही गर्न सक्ने अधिकार छैन।
त्यसैले सबै कुरा तयार भएर पनि हामी केही नभएजस्तो गरी मुखदर्शक बनेर बस्नुपरेको छ।
अब हामीले सोम शर्माको नामै तोकेर यसरी सार्वजनिक रूपमा अभियान चलाउनु पछाडि केही ठोस कारणहरू छन्।
पहिलो कारण
सोम शर्माको विगत पनि यही हो। अर्थात् सांसद बन्नुअघि लामो समय उनले वैदेशिक रोजगारीमा भइरहेको ठगी, विदेशमा अलपत्र परेका नागरिकहरूको उद्धार गर्ने र यसका लागि आवाज उठाउँदै आएका एक अभियन्ता हुन्।
दोस्रो र मुख्य कारण
वैदेशिक रोजगारीमा ठगिएर वा अलपत्र परेका नागरिकहरूको पीडा सोम शर्माले राम्रोसँग महसुस गरेका छन्, जसका कारण उनी यो समस्यासँग भावनात्मक रूपमा निकै बलियोसँग जोडिएका छन्।
तेस्रो कारण
वैदेशिक रोजगारीमा ठग्ने जति पनि ठगहरू छन्, उनीहरू एकदमै पावरफुल र हाइ-लेभलका छन्। विगत २ वर्षको हाम्रो अनुभवका आधारमा यति चाहिँ भन्न सक्छौँ कि, कति ठगहरू त यस्ता पनि छन् जसलाई छुन सरकार समेत डराउँथ्यो।
हो, त्यसैले अब यस्ता सबै ठगहरूलाई तह लगाउन बन्ने मन्त्रीमा दम हुनुपर्छ। अनि त्यो दम भएका एक पात्र हुन् सोम शर्मा।
चौथो र महत्त्वपूर्ण कारण
चाहे अहिलेको रास्वपा सरकार शक्तिशाली बन्नुमा होस् या बालेन प्रधानमन्त्री बन्नुमा, सबैभन्दा ठूलो हात जेन्जी आन्दोलनको छ।
अनि जसरी यही जेन्जी आन्दोलनको कारण सुदन गुरुङले गृहमन्त्री पद पाएका छन्, त्यसरी नै सोम शर्मा पनि एक हकदार हुन्।
सुदन गुरुङ फ्रन्टमा आए, सबैले देखे र उनको अलिक बढी चर्चा भयो। तर सोम शर्मा जेन्जी आन्दोलनको ब्याकबोनमध्येका एक हुन्।
जेन्जी आन्दोलन अगाडिदेखि हालसम्म उनले यो आन्दोलनका लागि ठूलो योगदान गरेका छन्। त्यो कुरा धेरै जेन्जीका लिडरहरूलाई राम्रोसँग थाहा छ।
पाँचौँ र अन्तिम कारण
रास्वपामा जसरी बाँकी अन्य सांसद जनताबाट निर्वाचित भएका हुन्, त्यसरी नै सोम शर्मा पनि बागलुङबाट प्रत्यक्ष रूपमा निर्वाचित भएर आएका हुन्।
त्यसैले बालेन सरकार र रास्वपाका लागि सोम शर्मालाई श्रम मन्त्री बनाउन रोक्ने कुनै पनि कारण छैन।
साथै उनी यो मन्त्रालयका लागि योग्य व्यक्ति हुन् र उनीसँग काम गर्न सक्ने डेयरिङ पनि छ।
अभियानलाई व्यापक बनाऔँ
हो, त्यसैले सम्पूर्ण रास्वपाका नेता, कार्यकर्ता, समर्थक र वैदेशिक रोजगारीमा रहेका आम नेपालीहरूले अब सामाजिक सञ्जालमार्फत सोम शर्मालाई श्रम मन्त्री बनाउनुपर्छ भनेर एउटा अभियान चलाऔँ।
हरेकले सञ्जालबाट चर्को दबाब दिऔँ। रास्वपा नेतृत्वसँग चिनजान भएकाहरूले फोन गरेर, म्यासेज गरेर वा भेटेरै सुझाव दिऔँ, अनुरोध गरौँ। किनकि हाम्रो यो अभियान एक जना सोम शर्मालाई मन्त्री बनाउनका लागि होइन।
हाम्रो यो अभियान त वैदेशिक रोजगारीमा भएका तमाम समस्यालाई जरैबाट उखेलेर फ्याल्नका लागि हो, जसका लागि हाल हामीले देखेको एक उपयुक्त पात्र हुन् सोम शर्मा।
खैर, आशा छ तपाईं आम दर्शकले हाम्रो अर्थात् खोज समाचारको यो अभियानमा साथ र सहयोग गर्नुहुनेछ। किनकि यसमा हाम्रो कुनै पनि व्यक्तिगत वा संस्थागत स्वार्थ छैन।
अनि तपाईं आम दर्शकको साथ र समर्थनले गर्दा महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्री बनाउनैपर्छ भन्ने हाम्रो अघिल्लो अभियान भर्खरै मात्र पूरा भइसकेको छ।
किनकि हामी विश्वास गर्छौँ कि एउटा साँचो र जिम्मेवार मिडियाको धर्म भनेको समाचार दिनु र सरकारको खबरदारी गर्नु मात्र होइन।
यस्तै सही सल्लाह–सुझाव दिएर र अभियान चलाएर जनता मार्फत राम्रा कुरा सरकारसामु पुर्याएर देश बनाउने अभियानमा हातेमालो गर्नु पनि हो।
खैर, आजका लागि यति नै। यो अभियानलाई व्यापक बनाउने जिम्मा तपाईंहरूको। यदि साँच्चै यो अभियान व्यापक भइदियो भने त्यसपछि अर्को लेखमा हामी आगामी १ वर्षभित्र वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई पूर्ण रूपमा जरैबाट उखेलेर कसरी फ्याल्न सक्छौँ भन्नेबारे विस्तृत योजना र रोडम्यापसहित जानकारी दिनेछौँ।
सम्पादकीय घोषणा : यो सामग्री खोज समाचारको सम्पादकीय विभागद्वारा सञ्चालन गरिएको अभियानअन्तर्गत प्रकाशित विचारप्रधान लेख हो। यसमा व्यक्त गरिएका धारणा, सुझाव, मूल्याङ्कन र निष्कर्षहरू खोज समाचारको सम्पादकीय दृष्टिकोणमा आधारित छन्। यो सामग्री तटस्थ समाचार रिपोर्टिङको रूपमा नभई सार्वजनिक चासोको विषयमा खोज समाचारले लिएको सम्पादकीय अडान र अभियानको एक भागका रूपमा प्रकाशित गरिएको हो।