फाइनल्ली हामी (खोज समाचार) ले लामो समयदेखि उठाएको एउटा माग आज पूरा भएको छ । यसको लागि धेरै धेरै धन्यवाद बालेन सरकार । निर्वाचनअघि देखि नै हामीले बारम्बार एउटा कुरा उठाउँदै आएका थियौं—महावीर पुन जस्ता व्यक्तिलाई संसदमा मात्र होइन, देशको नेतृत्व तहमा पनि अवसर दिनुपर्छ।
त्यसैले चुनावअघि नै हामीले महावीर पुनलाई म्याग्दी–१ बाट जिताउनुपर्ने अभियानमा खुलेर आवाज उठायौं। महावीर पुनलाई म्याग्दी–१ बाट जिताउनुपर्छ भन्ने हाम्रो पुरानो भिडियो
नेपाली जनताले पनि त्यो आवाज सुने र महावीर पुन म्याग्दी–१ बाट निर्वाचित हुनुभयो।
तर हाम्रो आवाज त्यतिमै रोकिएन।
चुनाव जितेपछि हामीले फेरि अर्को कुरा उठायौं—रास्वपाले आफ्नै धेरै सांसद जितेको भए पनि महावीर पुनलाई सरकारमा ल्याउनुपर्छ। योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो विश्वास थियो।
महावीर पुनलाई मन्त्री बनाउनुपर्ने मागबारे हाम्रो फेसबुक भिडियो
यो विषयमा आवाज उठाउँदा केही रास्वपा समर्थकहरूले हामीलाई गाली पनि गर्नुभयो। “हामीसँग आफ्नै सांसदहरू छन्, बाहिरको व्यक्तिलाई किन ल्याउने?” भन्ने तर्क पनि आयो। तर हामीले योग्यताको आधारमा निर्णय हुनुपर्छ भन्ने कुरा निरन्तर उठाइरह्यौं।
त्यसपछि पनि सरकार गठन भएको लामो समयसम्म महावीर पुन मन्त्री नबनेपछि हामीले पटकपटक प्रश्न उठायौं—यदि विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिने हो भने महावीर पुनलाई किन जिम्मेवारी नदिइएको?
महावीर पुनलाई मन्त्री किन नबनाइएको भन्ने विषयमा हाम्रो भिडियो
पछि हामीले यो विषयलाई थप स्पष्ट रूपमा समाचार र विश्लेषणमार्फत उठायौं।
त्यसपछि हामीले अर्को महत्वपूर्ण विषय पनि उठायौं—विज्ञान तथा नवप्रवर्तनको लागि छुट्टै मन्त्रालय आवश्यक छ। नेपालले अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा ठूलो छलाङ मार्न चाहन्छ भने यो क्षेत्रलाई छुट्टै प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो धारणा थियो। र नभन्दै सरकारले त्यो पनि बनायो ।
र आज अन्ततः सरकारले विज्ञान तथा नवप्रवर्तन मन्त्रालयमा महावीर पुनलाई मन्त्री बनाएको छ।
बालेन सरकार बनेपछि भएका विभिन्न निर्णयमध्ये यो निर्णय सबैभन्दा उत्कृष्ट र नेपाललाई दीर्घकालीन रूपमा माथि उठाउने निर्णयहरूमध्ये एक हो भन्ने हामीलाई लाग्छ।
किनकि सरकारले महावीर पुनलाई मन्त्री बनाउने निर्णय मात्र गरेको छैन, यो मन्त्रालयका लागि आवश्यक बजेट पनि विनियोजन गरिसकेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले कुल पूँजीगत खर्चको १ प्रतिशत रकम छुट्याउने घोषणा गरेको छ।
यो १ प्रतिशत भनेको करिब रु ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ हुन आउँछ।
नेपालको इतिहासमा अनुसन्धान, विज्ञान र नवप्रवर्तनका लागि यसरी छुट्टै मन्त्रालय र उल्लेखनीय बजेट व्यवस्था भएको सम्भवतः पहिलो पटक हो।
त्यसैले अब नेपाललाई खोज, अनुसन्धान, विज्ञान र प्रविधिको दुनियाँमा अगाडि लैजाने वास्तविक अवसर सिर्जना भएको छ। नेपालीलाई आवश्यक धेरै वस्तु तथा प्रविधि देशभित्रै विकास गर्ने बाटो खुलेको छ।
हामी आशावादी छौं कि आगामी ५ वर्षमा महावीर पुनको नेतृत्वमा यो मन्त्रालयले नेपालले अहिलेसम्म नसोचेका कामहरू गर्न सक्छ।
आजसम्म महावीर पुनलाई जिताउन, उहाँका एजेन्डाहरूलाई सार्वजनिक बहसको विषय बनाउन र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भन्ने आवाज उठाउन आम नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूलो भूमिका खेल्नुभएको छ।
हामीले पनि आफ्नो ठाउँबाट सार्वजनिक बहस सिर्जना गर्ने, आवाज उठाउने र यो विषयलाई निरन्तर चर्चामा राख्ने प्रयास गरेका थियौं। तर यसको श्रेय कुनै एक व्यक्ति, संस्था वा मिडियालाई मात्र जाँदैन। अन्ततः निर्णय सरकारले गरेको हो र समर्थन नेपाली जनताले गरेका हुन्।
अब पालो महावीर पुनको। किनकि अब उहाँको हातमा आगामी पाँच वर्षका लागि छुट्टै मन्त्रालय र अर्बौं रुपैयाँको बजेट छ।
अब सिङ्गो देशलाई गर्व हुने गरी काम गरेर देखाउनुहोला। नेपाललाई आवश्यक विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा नयाँ इतिहास रच्नुहोला। अन्य देशमाथिको अनावश्यक निर्भरता घटाउने दिशामा ठोस उपलब्धि दिनुहोला।
महावीर पुनलाई सफल कार्यकालको हाम्रो तर्फबाट धेरै धेरै शुभकामना।
र यो अभियानमा आजसम्म सामाजिक सञ्जाल, भिडियो, समाचार, लेख तथा सार्वजनिक बहसमार्फत साथ दिने सम्पूर्ण पाठक, दर्शक तथा नागरिकहरूलाई पनि हृदयदेखि धन्यवाद।
नया अभियान
खैर, आजबाट हामी फेरि अर्को अभियानको सुरुवात गर्दैछौं। त्यो हो—श्रम मन्त्रालयको मन्त्री फेर्ने। देशको भविष्यका लागि विज्ञान तथा नवप्रवर्तन मन्त्रालय जति महत्वपूर्ण छ, नेपालीको वर्तमानका लागि श्रम मन्त्रालय त्यति नै महत्वपूर्ण छ।
किनकि चाहे हाम्रो देशको अर्थतन्त्रको कुरा होस् वा ६०–७० प्रतिशत परिवारको जीविकोपार्जनको आधार नै किन नहोस्, यसको मुख्य केन्द्रमा वैदेशिक रोजगारी छ।
यदि वैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स पठाउन बन्द गरिदिने हो भने देशको अर्थतन्त्र ढल्ने लगभग निश्चित छ। साथै देशका ६०–७० प्रतिशत परिवार आर्थिक संकटमा पर्ने पनि पक्का छ।
तर विडम्बना, यसरी सिङ्गो देशको सबैभन्दा ठूलो आर्थिक भार थामेर बसिरहेको यो समूहले सबैभन्दा बढी दुःख र अन्याय भोगिरहेको छ। विदेश जाने नाममा दैनिक सयौं नागरिक ठगिरहेका हुन्छन्।
हुँदा–हुँदा प्लेनको टिकट काट्ने कुरामा समेत ठगी भइरहेको छ। उजुरी गर्यो भने कतैबाट सुनुवाइ हुँदैन। कैयौं केसमा त ती ठगहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको हुन्छ, तर पनि उनीहरू पक्राउ पर्दैनन्।
देशमा सबैभन्दा बढी नागरिकले दुःख पाउने र भ्रष्टाचार हुने क्षेत्रमध्ये एक वैदेशिक रोजगार पनि हो। तर यही क्षेत्रको प्रतिनिधित्व गर्ने मुख्य मन्त्रालय अर्थात् श्रम मन्त्रालयमा सही व्यक्ति पुग्न सकेको छैन।
सरकार बनेसँगै श्रममन्त्री बनेका दीपक कुमार शाह श्रीमती काण्डका कारण १४ दिनमै पदमुक्त भए। त्यसपछि उक्त मन्त्रालयमा रामजी यादव आएका छन्।
उहाँ आएको आज दुई महिना पुगिसकेको छ, तर नतिजा लगभग शून्य छ। रामजी यादव मन्त्री बनेपछि यो पछिल्लो दुई महिनामा हामी जनताले देखिने र महसुस हुने गरी खासै कुनै काम भएको देखेका छैनौं।
बस दुई–चार वटा म्यानपावर कम्पनीमा छापा मार्ने काम भयो, त्यो बाहेक अरू केही देखिएको छैन।
कुनै पनि सरकार सफल हुनका लागि उक्त सरकारभित्र रहेका मन्त्रीहरू एक से एक नतिजा दिन सक्ने हुनुपर्छ। एउटा प्रधानमन्त्री मात्र गतिलो भएर सरकारले द्रुत गतिमा अगाडि बढ्न र अपेक्षित परिणाम दिन सक्दैन।
त्यसैले बालेन सरकारले श्रम मन्त्रालयमा हालका निर्वाचित सांसदहरूमध्ये सबैभन्दा उपयुक्त पात्र अर्थात् बाग्लुङबाट निर्वाचित शोम शर्मालाई श्रममन्त्री बनाउनै पर्छ।
शोम शर्मालाई श्रममन्त्री बनाउनुपर्छ भन्ने विषयमा हामीले यसअघि पनि आवाज उठाएका छौं। वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या, ठगी र पीडितहरूको अवस्थालाई नजिकबाट बुझेका व्यक्तिका रूपमा शोम शर्मालाई जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो धारणा पहिलेदेखि नै रहँदै आएको छ।
हामीलाई आशा छ, जसरी महावीर पुनलाई जिताउन, मन्त्री बनाउन र विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन आम नागरिक, पाठक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले साथ दिनुभयो, त्यसरी नै यो अभियानमा पनि साथ र सहयोग गर्नुहुनेछ।
यदि हामी सबै मिलेर आवाज उठाउन सक्यौं भने श्रम मन्त्रालयमा पनि योग्य नेतृत्व स्थापित गर्न सकिनेछ भन्ने हाम्रो विश्वास छ। किनकि वैदेशिक रोजगारीसँग जोडिएका लाखौं नेपालीको भविष्य, सुरक्षा र सम्मानको प्रश्न कुनै एउटा व्यक्तिको मात्र होइन, सिङ्गो देशको सरोकारको विषय हो।