नाम फेरेर होइन, सिंहदरबारभित्रको अवस्था फेरेर देखाउनुस्

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नाम फेरेर होइन, सिंहदरबारभित्रको अवस्था फेरेर देखाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताले पछिल्लो समय दिएका अभिव्यक्ति र उठाएका विषयले समर्थक तथा मतदातामाझ नै प्रश्न जन्माउन थालेका छन्। पुराना दलबाट अपेक्षित काम हुन नसकेको भन्दै नयाँ राजनीतिक विकल्प रोजेका नागरिक अहिले सत्ता र जिम्मेवारीमा पुगेका नेताबाट परिणाम खोजिरहेका छन्। तर त्यसको साटो सिंहदरबारको नाम परिवर्तनजस्ता विषय बहसमा आउँदा असन्तुष्टि देखिनु अस्वाभाविक होइन।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिजस्तो जिम्मेवार पदमा रहेका हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने विषय उठाएपछि यही प्रश्न झन् चर्किएको छ—जनताले नयाँ दललाई सिंहदरबारको नाम बदल्न पठाएका हुन् कि त्यहाँभित्रको शासनशैली र काम गर्ने तरिका बदल्न?

विज्ञापन
khoj2

सिंहदरबार कुनै सामान्य सरकारी परिसरको नाम मात्र होइन। यो नेपालको राजनीतिक र प्रशासनिक इतिहाससँग गाँसिएको ठाउँ हो। सरकार फेरिएका छन्, राजनीतिक व्यवस्था फेरिएका छन्, शासन प्रणाली परिवर्तन भएका छन्, तर सिंहदरबार देशको केन्द्रीय सत्ता र प्रशासनको प्रतीकका रूपमा निरन्तर रहँदै आएको छ।

त्यसैले यसको नाम परिवर्तनको बहसलाई सामान्य विषयका रूपमा लिन सकिँदैन।

रास्वपाले पुराना दलको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो। पुराना दलका सांसदले राम्रो नीति बनाउन सकेनन्, शासन सुधार्न सकेनन् र जनअपेक्षा पूरा गर्न सकेनन् भन्ने असन्तुष्टिकै बीच ठूलो संख्यामा मतदाताले नयाँ दललाई रोजेका हुन्।

त्यही कारण सत्ता र पर्याप्त संख्या नहुँदा ‘संख्या पुगेन’ भन्ने तर्क गर्दै आएको दल जिम्मेवारीमा पुगेपछि नागरिकले कामको परिणाम खोज्नु स्वाभाविक हो। विकास, सुशासन र सरकारी संयन्त्रको सुधार अपेक्षा गरिरहेका मतदाताले नाम परिवर्तनजस्ता बहसलाई प्राथमिक विषय मानेका छैनन्।

पछिल्लो समय रास्वपाका नेताका विभिन्न अभिव्यक्ति पनि चर्चामा आएका छन्। कहिले राजमार्गको नाम परिवर्तनको विषय, कहिले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको रोष्टमबाट आएको अभिव्यक्ति, कहिले १००–१०० मिटरमा सार्वजनिक शौचालय बनाउनुपर्ने भनाइ र कहिले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरिएको प्रसंगले राजनीतिक परिपक्वतामाथि प्रश्न उठाएको छ।

‘जान्नेलाई छान्ने’ नारासहित मत मागेको दलका जिम्मेवार नेताबाट नागरिकले अझ संयमित, तथ्यमा आधारित र जिम्मेवार व्यवहार अपेक्षा गर्नु स्वाभाविक हो।

सिंहदरबारको इतिहास

सिंहदरबारको इतिहास एक शताब्दीभन्दा पुरानो छ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९०८ मा आफ्नो दरबारका रूपमा सिंहदरबार निर्माण गराएका थिए। राणा शासकहरूबीच ठूला र भव्य दरबार निर्माण गर्ने प्रचलन रहेका बेला बनेको सिंहदरबार तीमध्ये सबैभन्दा विशाल र विलासी दरबारमध्ये एक मानिन्थ्यो।

युरोपेली वास्तुकलाबाट प्रभावित सिंहदरबार त्यतिबेलाको राणा सत्ता, सम्पत्ति र वैभवको प्रतीकसमेत थियो।

पुरानो सिंहदरबार अहिले देखिने एउटा भवनमा सीमित थिएन। ऐतिहासिक विवरणअनुसार त्यहाँ १,७०० भन्दा बढी कोठा र धेरै चोक थिए। ठूला बैठक हल, पाहुनाका लागि छुट्टै स्थान, निजी कक्ष र विशाल बगैंचासहित दरबारभित्र महँगा झूमर, ऐना, मार्बल तथा विभिन्न विलासी सजावट प्रयोग गरिएका थिए।

चन्द्र शमशेरकै समयदेखि यो दरबार ‘सिंहदरबार’ का नामले चिनिन थाल्यो। समयक्रमसँगै यही नाम नेपालको केन्द्रीय सत्ता र सरकारको पर्यायजस्तै बन्न पुग्यो।

राणा शासन अन्त्य भएपछि सिंहदरबारको भूमिका पनि परिवर्तन भयो। राणा प्रधानमन्त्रीको निजी दरबारका रूपमा बनेको यही परिसर पछि नेपाल सरकारको मुख्य प्रशासनिक केन्द्र बन्यो।

सन् १९५३ मा सिंहदरबार राष्ट्रिय सम्पत्तिका रूपमा सरकारी नियन्त्रणमा आएको थियो। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय र सरकारी निकाय यही परिसरबाट सञ्चालन हुन थाले।

राणा शासन समाप्त भयो। पञ्चायत आयो। बहुदलीय व्यवस्था आयो। राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भयो। राजनीतिक व्यवस्था पटक–पटक फेरिए पनि सिंहदरबार नेपालको केन्द्रीय प्रशासनको प्रमुख प्रतीकका रूपमा कायम रह्यो।

सिंहदरबारले ठूलो विपत्ति पनि व्यहोरेको छ।

सन् १९७३ जुलाई ९ मा लागेको भीषण आगलागीले पुरानो सिंहदरबारको ठूलो हिस्सा नष्ट गर्‍यो। धेरै कोठा, हल र पुराना संरचना आगोमा परे। अगाडिको मुख्य भाग भने जोगिएको थियो।

त्यसपछि नष्ट भएका संरचनाको स्थानमा विभिन्न समयमा नयाँ सरकारी भवन थपिँदै गए। सन् २०१५ को भूकम्पले पनि पुरानो भवनमा क्षति पुर्‍याएको थियो। पछि त्यसको प्रबलीकरण र मर्मत गरिएको थियो।

यसरी हेर्दा सिंहदरबार एउटा नाम भएको सरकारी कम्पाउन्ड मात्र होइन। चन्द्र शमशेरको दरबारबाट सुरु भएको यसको यात्रा राणा शासन, प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्म आइपुगेको छ।

यहाँ बस्ने शासक फेरिए। सरकार फेरिए। देशको व्यवस्था फेरियो। सिंहदरबारको स्वरूपसमेत परिवर्तन भयो। तर ‘सिंहदरबार’ भन्ने नाम नेपालको केन्द्रीय सत्ता र प्रशासनसँग जोडिएर आजसम्म कायम छ।

त्यसैले सिंहदरबार एउटा भवनभन्दा धेरै हो। यो नेपालको एक शताब्दीभन्दा लामो राजनीतिक र प्रशासनिक इतिहास बोकेको स्थान हो।

यस्तो ऐतिहासिक नाम केवल कसैलाई मन परेन भन्ने आधारमा परिवर्तन गर्नुपर्ने बहस चलाउनुको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक छ। जनताले नयाँ राजनीतिक शक्तिलाई इतिहासको नाम बदल्न होइन, राज्य सञ्चालनको अवस्था बदल्न जिम्मेवारी दिएका हुन्।