सुनसरी घटनाविरुद्ध सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाप्रति विरोध जनाउँदै सिरहाका विभिन्न स्थानमा प्रदर्शन भएको छ। निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गर्दै प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।
मंगलबार गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वामा स्थानीयले सडकमा उत्रिएर विरोध जनाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, गोली चलाउनेमाथि कानुनी कारबाही गर्न तथा प्रहरी दमन रोक्न सरकारसँग माग गरेका छन्। केही प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामासमेत माग गर्दै नाराबाजी गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो। आन्दोलनरत पक्षसँग छलफलपछि सडक सञ्चालनमा ल्याइएको र अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।
यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको थियो। त्यसै दिन साँझ गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोकमा समेत विरोध प्रदर्शन गरिएको थियो।
विवादको केन्द्रमा रहेको घटना सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हो। दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता घटनाको निष्पक्ष अनुसन्धान र प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै सुनसरीसहित विभिन्न जिल्लामा विरोधका कार्यक्रम जारी छन्।
घटनाले सुरक्षा निकायको बल प्रयोग, भीड नियन्त्रणको विधि र त्यसको जवाफदेहिताबारे पुनः बहस सुरु गराएको छ। मृतकका परिवार र स्थानीयले निष्पक्ष अनुसन्धानको माग दोहोर्याइरहेका छन् भने सम्बन्धित निकायबाट घटनाको छानबिन प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
