ठेकेदारलाई ‘खुट्टा भाँचिदिनू’ भनेपछि मन्त्री लम्साल विवादमा

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
ठेकेदारलाई ‘खुट्टा भाँचिदिनू’ भनेपछि मन्त्री लम्साल विवादमा

नागढुंगा–मुग्लिङ सडकखण्डको अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले दिएको एक अभिव्यक्तिले सार्वजनिक बहस चर्काएको छ। निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले काम नगर्ने ठेकेदारलाई “खुट्टा भाँचिदिनू” भन्दै दिएको निर्देशनको भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी चर्चा भइरहेको छ।

सडक विस्तारका क्रममा बीच सडकमा रहेका विद्युत् पोल नसारिँदा निर्माणमा अवरोध भएको भन्दै मन्त्री लम्सालले सम्बन्धित ठेकेदारलाई जहाँ भए पनि खोजेर ल्याउन र काममा लगाउन निर्देशन दिएका थिए। त्यही क्रममा उनले कडा भाषामा दिएको अभिव्यक्ति अहिले विवादको केन्द्र बनेको हो।

विज्ञापन
khoj2

अनुगमनमा धादिङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र आयोजना प्रमुखसहितका सरकारी अधिकारी सहभागी थिए। स्थानीयले लामो समयदेखि सडक निर्माणमा ढिलाइका कारण सास्ती खेपिरहेको भन्दै मन्त्रीले काममा कुनै ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी दिएका थिए।

तर मन्त्रीको अभिव्यक्तिप्रति निर्माण व्यवसायीहरूले आपत्ति जनाएका छन्। निर्माण व्यवसायीहरूको भनाइमा कुनै ठेकेदारले सम्झौताअनुसार काम नगरे कानुनी प्रक्रिया र कारबाहीको व्यवस्था राज्यसँग छ। तर सार्वजनिक पदमा बसेको व्यक्तिले शारीरिक हिंसाको संकेत गर्ने भाषा प्रयोग गर्नु उपयुक्त नहुने उनीहरूको तर्क छ।

यस विषयमा प्रतिक्रिया दिँदै धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले मन्त्रीको मुख्य चासो निर्माण कार्य छिटो सम्पन्न होस् भन्ने रहेको बताएकी छन्। उनका अनुसार सडक निर्माणमा कुनै पक्षबाट ढिलाइ नहोस् भन्ने सन्देश दिन खोजिएको हो।

नागढुंगा–मुग्लिङ सडक देशकै व्यस्त सडकखण्डमध्ये एक हो। लामो समयदेखि निर्माण कार्य सुस्त गतिमा चलिरहेका कारण यात्रु र स्थानीय दुवैले समस्या भोग्दै आएका छन्। यही पृष्ठभूमिमा मन्त्रीले कडा रूपमा असन्तुष्टि व्यक्त गरे पनि प्रयोग गरिएको भाषामाथि भने प्रश्न उठ्न थालेको छ।

सरकारी अधिकारीले सार्वजनिक रूपमा दिने अभिव्यक्ति कानुनी राज्यको मर्मअनुसार हुनुपर्ने बहसका बीच मन्त्री लम्सालको यो भनाइ अहिले राजनीतिक र प्रशासनिक वृत्तमा समेत चर्चाको विषय बनेको छ।