सुनसरी झडपपछि गृहमन्त्रीको सुरक्षा प्रमुखसँग छलफल

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सुनसरी झडपपछि गृहमन्त्रीको सुरक्षा प्रमुखसँग छलफल

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले सुरक्षा अवस्थाको उच्चस्तरीय समीक्षा गरेको छ। घटनामा एक जनाको ज्यान गएपछि गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै घटनाको वास्तविक अवस्था, सुरक्षा व्यवस्थापन र थप कदमबारे जानकारी लिएको हो।

सिंहदरबारमा आयोजित छलफलमा गृहमन्त्री सुधन गुरुङसँग गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायदत्त पौडेल सहभागी भएका थिए। मन्त्रालय स्रोतका अनुसार बैठकमा घटनाको क्रम, सुरक्षा निकायको प्रतिक्रिया र स्थानीय अवस्थाबारे विस्तृत ब्रिफिङ गरिएको छ।

कप्तानगञ्जमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने तनाव नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार धार्मिक गतिविधिका क्रममा मन्दिरमा उच्च आवाजमा डिजे बजाइएको विषय र त्यसअघि सार्वजनिक स्थानमा रहेको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको भनिएको घटनापछि विवाद चर्किएको थियो। त्यसपछि दुई समुदायबीच तनाव बढ्दै झडपको अवस्था सिर्जना भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरीले तीन राउन्ड तथा सशस्त्र प्रहरीले सात राउन्ड हवाई फायर गरेको सुरक्षा निकायको दाबी छ। यद्यपि सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्र प्रहरीले कुल २० राउन्ड गोली चलाएको जानकारी दिएका छन्।

विज्ञापनविकिबिजि

झडपका क्रममा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना प्रहरी, सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी तथा नौ जना स्थानीय घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।

घटनापछि स्थानीय प्रशासनले संवेदनशील क्षेत्रको सुरक्षा निगरानी बढाएको छ। घटनाको कारण, सुरक्षाकर्मीले गोली चलाउनुपरेको अवस्था तथा मृत्युको परिस्थितिबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको गृह मन्त्रालयले जनाएको छ।