नारायणीको जोखिममा सुस्ता, बस्ती जोगाउन जनश्रमदानबाट तटबन्ध
नारायणी नदीको बहाव बढेसँगै सुस्ताका बस्ती फेरि कटान र डुबानको जोखिममा परेका छन्। स्थायी तटबन्ध निर्माणको विषय सीमासँग जोडिएको प्राविधिक र प्रशासनिक जटिलतामा अल्झिरहेका बेला स्थानीयवासी आफैं बस्ती जोगाउन नदी किनारमा उत्रिएका छन्।
सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता थारुटोलदेखि नेपाल–भारत सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपास अहिले जनश्रमदानबाट अस्थायी तटबन्ध बनाउने काम भइरहेको छ। बुधबारदेखि स्थानीयवासीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पनि यसमा खटिएका छन्।
नदीको पानी बस्तीतर्फ पस्न नदिन बालुवा र माटो भरिएका बोरा किनारमा तह मिलाएर राखिएका छन्। ती बोरालाई नाइलनको डोरीले बाँधेर बलियो बनाउने र सम्भावित कटान हुने ठाउँमा थप अवरोध तयार गर्ने काम भइरहेको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार अहिलेको मुख्य चिन्ता बस्तीलाई तत्काल सुरक्षित राख्नु हो। नदीको बहाव थप बढ्न सक्ने आकलनसहित स्थानीय र तीनवटै सुरक्षा निकायले चौबीसै घण्टा काम गरिरहेको उनले बताए।
‘अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो,’ जैसवालले भने, ‘स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ।’
स्थायी संरचना रोकिँदा अस्थायी उपायको भर
सुस्तामा अहिले भइरहेको काम केवल यस वर्षको बाढीको जोखिमसँग मात्र जोडिएको छैन। नारायणीको कटान नियन्त्रणका लागि स्थायी संरचना बनाउने प्रयास अघि बढे पनि सीमावर्ती क्षेत्रको जटिलताका कारण त्यसले गति लिन नसकेको स्थानीयको भनाइ छ।
यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माण अघि बढाउने तयारी गरेको थियो। तर भारतीय पक्षबाट माथिल्लो तहको स्वीकृति आवश्यक रहेको भन्दै निर्माणमा अवरोध भएपछि काम रोकिएको स्थानीयले बताएका छन्।
त्यसअघि स्थानीयले आफ्नै पहलमा बनाएको अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको विषय राष्ट्रिय चर्चामा समेत आएको थियो। त्यसपछि स्थानीय प्रशासनसहित सम्बन्धित निकायबीच छलफल भए पनि स्थायी संरचनाको विषय तत्काल टुंगिन सकेन। बढ्दो वर्षा र नारायणीको बहावलाई ध्यानमा राख्दै हालका लागि अस्थायी संरक्षणलाई प्राथमिकता दिइएको छ।
सरकारी सामग्री, स्थानीयको श्रम
अस्थायी तटबन्धका लागि नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। त्यसमा स्थानीयले आफ्नै स्रोतबाट समेत बोरा, बालुवा र आवश्यक सामग्री जुटाइरहेका छन्।
नदीको अवस्था हेरेर कामको दायरा थप विस्तार गर्नुपर्ने हुन सक्ने स्थानीयको तयारी छ। जैसवालका अनुसार बहाव अझै बढेमा थप जनशक्ति र सामग्री परिचालन गरेर जोखिमयुक्त क्षेत्रलाई सुरक्षित राख्ने प्रयास गरिनेछ।
सुस्ताका लागि भने बोरामा बालुवा भरेर बनाइने यस्तो बाँध नयाँ समाधान होइन। नारायणीको कटान र डुबानले वर्षायाममा बस्तीलाई पटक–पटक जोखिममा पार्दै आएको छ। तत्काल पानी रोक्न अस्थायी संरचनाले केही राहत दिए पनि नदी नियन्त्रणको दीर्घकालीन विकल्प यसले दिन नसक्ने स्थानीयको बुझाइ छ।
यही कारण सुस्तावासीले स्थायी तटबन्ध निर्माणको माग लामो समयदेखि उठाउँदै आएका छन्। सीमावर्ती क्षेत्रसँग जोडिएका प्राविधिक र प्रशासनिक विषय नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वयबाट समाधान गरी दीर्घकालीन संरचना निर्माण अघि बढाउनुपर्ने उनीहरूको माग छ।
अहिलेका लागि भने त्यो समाधानको प्रतीक्षा गर्दै सुस्तावासी आफैं नदीसँग जुधिरहेका छन्—सरकारी निकायले दिएका बोरा र डोरी, स्थानीय स्रोतबाट जुटाइएको बालुवा र सामूहिक श्रमको भरमा बस्ती जोगाउने प्रयास जारी छ।

