जता हेर्यो, त्यतै आन्दोलन
सिंहदरबारभित्र कामै छाडेर करारका कर्मचारीहरूले हिजोदेखि आन्दोलन गरिरहेका छन्। त्यसपछि अलि बाहिर निस्किँदा सिंहदरबारको गेटमै बिनु यादव नाम गरेकी एक महिला विगत तीन दिनदेखि धर्नामा छिन्।
त्यसपछि अझ अलि बाहिर नेकपा एमालेनिकट अनेरास्ववियुको आन्दोलन छ। त्यहाँबाट केही किलोमिटर पर माइतीघरमा किसानहरूले सडकभरि गोलभेँडा फालेर आन्दोलन गरिरहेका छन्।
यस्तै, उता जनकपुरदेखि मिटरब्याज पीडितहरू पैदल हिँडेर आन्दोलन गर्न काठमाडौँ आउँदै छन्। अझ माइतीघरको सडकमा आ–आफ्नै माग लिएर विगत लामो समयदेखि अनशनमा बस्नेहरू त छँदै छन्।
सडकको कुरा छाडौँ, पछिल्लो दुई महिनादेखि सदनमा विपक्षी दलहरूले निरन्तर आन्दोलन गरिरहेका छन्। यसरी हेर्दा देशमा आन्दोलन नै आन्दोलन देखिन्छ।
खैर, अब एक–एक गरी हेरौँ, यी आन्दोलनहरू के–केका लागि भइरहेका छन् त भन्नेबारे।
माइतीघरमा किसानहरूले गोलभेँडा फालेर किन आन्दोलन गरे?
धेरैलाई यो मजाक लागिरहेको होला, तर सडकमा पोखिएका यी राता दानाहरू केवल गोलभेँडा मात्र होइनन्। यी त ती हजारौँ किसानको आँसु र पसिना हुन्। हाल बजारमा गोलभेँडाको मूल्य ३५ देखि ५० रुपैयाँसम्म छ। तपाईं हालै किन्न जाँदा यति मूल्य तिर्नैपर्छ। तर उत्पादन गर्ने किसानले भने प्रतिकिलो ८ देखि १४ रुपैयाँ पनि मुस्किलले पाउँछन्।
त्यसमाथि पनि भारतीय गोलभेँडाका कारण नेपाली गोलभेँडाले बजार नपाएर किसानहरू हैरान छन्। हो, यसको विरोधस्वरूप आज किसानहरूले माइतीघर मण्डलाको सडकमा यसरी गोलभेँडा फ्याँकेर आन्दोलन गरेका हुन्।
सिंहदरबारभित्र करार कर्मचारीहरूको आन्दोलन
सिंहदरबारभित्रका १८ वटा मन्त्रालयअन्तर्गत लामो समयदेखि काम गर्दै आएका करार कर्मचारीहरूलाई हटाएर सरकारले आउटसोर्सिङमार्फत जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको भन्दै उनीहरू अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारअगाडि धर्ना र विरोधमा उत्रिएका हुन्।
उनीहरूका अनुसार यो योजना कार्यान्वयन भए वर्षौँदेखि काम गर्दै आएका हजारौँ करार कर्मचारीको रोजगारी जुनसुकै बेला गुम्न सक्छ।
त्यसैले उनीहरूको मुख्य माग सरकारले आउटसोर्सिङमार्फत कर्मचारी राख्ने तयारी तत्काल फिर्ता लिनुपर्ने र हाल कार्यरत करार कर्मचारीहरूको सेवालाई निरन्तरता दिँदै रोजगारीको सुरक्षा गर्नुपर्ने भन्ने रहेको छ।
उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। यस्तै, अब तेस्रोमा कुरा गरौँ, विगत तीन दिनदेखि सिंहदरबारको गेटमा धर्ना दिइरहेकी बिनु यादवको बारेमा।
घरेलु हिंसामा परेको भन्दै गृहमन्त्रीलाई भेटेर गुनासो पोख्न सिंहदरबार पुगेकी उनलाई हातमा पास हुँदाहुँदै पनि भित्र छिर्न नदिएको भन्दै उनी गेटमै धर्नामा बसिरहेकी छिन्।
अनेरास्ववियुको प्रदर्शन र मिटरब्याज पीडितहरूको न्याय मार्च
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकमा राज्य आतंक बढेको, विधिको शासन मिचिएको र गरिबको आवाज दबाइएको आरोप लगाउँदै सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेको हो।
उनीहरूले सडकको बीचमै मोटरसाइकल तेर्स्याएर ‘गरिबको आवाज दबाउन पाइँदैन’ र ‘राज्य आतंक बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए। प्रदर्शनका कारण केहीबेर सिंहदरबार आसपासको यातायातसमेत प्रभावित भयो। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारी र मोटरसाइकल सडकबाट हटाएको थियो।
यति मात्र होइन, प्रहरीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित छ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। अनेरास्ववियुले भने पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहा नगरे आन्दोलन अझै चर्काउने चेतावनी दिएको छ।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेर काठमाडौँतर्फ आइरहेका छन्। पटक–पटक आन्दोलन र सरकारसँग सहमति गर्दा पनि आफूहरूले न्याय नपाएको भन्दै उनीहरू फेरि सडकमा निस्किएका हुन्।
उनीहरूको मुख्य माग मिटरब्याजसँग सम्बन्धित नक्कली तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन र फर्जी चेकलगायतका कागजात सरकारले खारेज गर्नुपर्छ भन्ने हो।
यस्तै, मिटरब्याजसम्बन्धी मुद्दाको छिटो फैसला गर्न छुट्टै विशेष न्यायाधिकरण गठन गर्नुपर्ने, पीडितमाथि लगाइएका फर्जी मुद्दाको पुनरावलोकन गर्नुपर्ने र मिटरब्याजीले गैरकानुनी रूपमा कमाएको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
साहुमहाजनले हडपेका पीडितका घरजग्गा फिर्ता गरिनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत उनीहरूले राखेका छन्। यिनै पीडितहरूको माग पूरा गर्न भन्दै गृहमन्त्री सुदन गुरुङ बारा पुगेका छन् भने सरकार र पीडितबीच वार्ता भइरहेको छ। हालसम्म छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पहिलो माग सरकारले हिजो नै पूरा गरिसकेको छ।
सदनमा विपक्षी दलहरूको निरन्तर विरोध
खैर, अन्त्यमा तथा छैटौँमा कुरा गरौँ, विगत दुई महिनादेखि सदनमा विपक्षी दलहरू निरन्तर किन विरोधमा छन् त भन्नेबारे। प्रधानमन्त्री बालेन शाहले रोष्ट्रममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले निरन्तर विरोध गरिरहेका छन्।
