पोखरामा तिलहरी चोरीको आरोपमा ग्रिसकी महिला पक्राउ

पर्यटकका रूपमा नेपाल आएकी ग्रिसकी ६६ वर्षीया काल्लीपी स्टेफान पोखराको यशोदा ज्वेलर्सबाट तिलहरी चोरी गरेको आरोपमा पक्राउ परेकी छन्। सीसीटीभी फुटेजका आधारमा खोजी गर्दा प्रहरीले उनलाई गैह्रापाटनबाट नियन्त्रणमा लिएको हो। उनको झोलाबाट रातो पोतेसहितको तिलहरी बरामद भएको प्रहरीले जनाएको छ। स्टेफानले गहना झुक्किएर झोलामा परेको दाबी गरेकी छन्। प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Read this article also in :English हिन्दी
रातो पोते, धातुका गहना र ट्यागसहितको तिलहरी।
पोखरामा चोरीको आरोपमा बरामद गरिएको तिलहरी।

पर्यटकका रूपमा नेपाल आएकी ग्रिसकी एक महिलालाई पोखराको सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६६ वर्षीया काल्लीपी स्टेफान रहेकी छन्।

प्रहरीका अनुसार स्टेफान कात्तिक २६ गते नेपाल आएकी थिइन्। पोखरा घुम्ने क्रममा उनी कात्तिक २९ गते पोखरा महानगरपालिका–२, मोहोरिया टोलस्थित यशोदा ज्वेलर्स पुगेकी थिइन्। त्यहाँ उनले विभिन्न गहना हेरेर पसलबाट बाहिरिएकी थिइन्।

विज्ञापन
khoj2

त्यस दिन पसल सञ्चालकले कुनै शंका गरेनन्। तर, भोलिपल्ट गहना जाँच गर्दा ग्राहकलाई देखाइएको तिलहरी नभेटिएपछि पसलमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको थियो। फुटेजमा ती विदेशी महिलाले तिलहरी लगेको देखिएपछि सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सीसीटीभी फुटेजका आधारमा महिलाको खोजी थालेको थियो। खोजीका क्रममा बुधबार पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित पन्थी गल्लीमा उनलाई फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको झोला खानतलासी गर्दा पसलबाट हराएको रातो पोतेसहितको तिलहरी बरामद गरेको छ।

पक्राउपछि प्रहरीसँगको बयानमा स्टेफानले गहना झुक्किएर आफ्नो झोलामा परेको दाबी गरेकी छन्। यद्यपि, प्रहरीले घटनाको परिस्थितिलाई आधार मान्दै उनको भनाइमाथि थप अनुसन्धान गरिरहेको छ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार महिलाले भूलवश गहना झोलामा परेको बताए पनि तत्काल फिर्ता नगरेको विषयलाई प्रहरीले शंकास्पद मानेको छ।

‘उनले झुक्किएर आफ्नो झोलामा परेको बताउँछिन्। तर, यो उनको नियत नै देखिएको छ। झोलामा परेको भए उनले सोही दिन फिर्ता गर्ने थिइन्,’ एसपी कार्कीले भने।

प्रहरीले स्टेफानविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ।

घटनासँग सम्बन्धित सीसीटीभी फुटेज र बरामद तिलहरीलाई अनुसन्धानका प्रमाणका रूपमा राखिएको छ। गहना झोलामा कसरी पुग्यो र घटनामा चोरी गर्ने नियत थियो वा थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

महिलामाथि चोरीको आरोप लागे पनि कसुर प्रमाणित हुने वा नहुने विषय अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुंगिनेछ।