राष्ट्रिय परिचयपत्र डाउनलोड सेवा पुनः सुरु, अब OTP अनिवार्य

Read this article also in : English

राष्ट्रिय परिचयपत्र डाउनलोड सेवा पुनः सञ्चालनमा आएको छ। तर यसपटक प्रणालीमा थप सुरक्षा तह समावेश गरिएको देखिएको छ। अब राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न खोज्ने प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्र बनाउँदा दर्ता गरिएको मोबाइल नम्बरमा आउने OTP प्रविष्ट गरेपछि मात्र आफ्नो परिचयपत्र हेर्न वा डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि केवल व्यक्तिगत विवरणको आधारमा राष्ट्रिय परिचयपत्र पहुँच गर्न सकिने व्यवस्थाबारे सुरक्षा चिन्ता उठेपछि सेवा केही समयका लागि अनुपलब्ध बनेको थियो।

खोज समाचारले उठाएको थियो सुरक्षा चिन्ता

२०८३ असार ६ गते खोज समाचारले राष्ट्रिय परिचयपत्र डाउनलोड प्रणालीमा रहेको सम्भावित सुरक्षा जोखिमबारे विस्तृत भिडियो रिपोर्ट र समाचार प्रकाशित गरेको थियो।

उक्त रिपोर्टमा राष्ट्रिय परिचयपत्र हेर्न वा डाउनलोड गर्न कुनै OTP, मोबाइल भेरिफिकेशन वा अन्य दोस्रो सुरक्षा तह आवश्यक नरहेको विषय उठाइएको थियो। खोज समाचारले नाम, जन्ममिति र नागरिकता जारी भएको मिति मात्र थाहा भएमा जो कसैले पनि अरू व्यक्तिको राष्ट्रिय परिचयपत्र पहुँच गर्न सक्ने सम्भावित जोखिमबारे प्रश्न उठाएको थियो।

त्यसपछि उक्त विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। खोज समाचारले प्रकाशित गरेको भिडियो रिपोर्टलाई मात्रै ६१ हजारभन्दा बढी प्रतिक्रिया, १ हजारभन्दा बढी कमेन्ट र २३ सयभन्दा बढी शेयर प्राप्त भएको थियो।

भोलिपल्ट सेवा अनुपलब्ध बनेको थियो

खोज समाचारले सुरक्षा कमजोरीबारे समाचार सार्वजनिक गरेको भोलिपल्ट राष्ट्रिय परिचयपत्र डाउनलोड सेवा अनुपलब्ध बनेको थियो।

त्यसबेला डाउनलोडसँग सम्बन्धित वेबपेजमा 404 (Page Not Found) त्रुटि देखिएको थियो भने सिटिजन पोर्टलबाट डाउनलोड विकल्पसमेत हटाइएको थियो। यद्यपि, सम्बन्धित निकायले त्यसबेला सेवा किन बन्द गरिएको हो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरेको थिएन।

अब थपियो OTP सुरक्षा

आज सेवा पुनः सञ्चालनमा आएसँगै OTP आधारित प्रमाणीकरण थपिएको देखिएको छ।

यसअघि खोज समाचारले राष्ट्रिय परिचयपत्र डाउनलोड प्रणाली सुरक्षित बनाउन OTP आधारित भेरिफिकेशन अनिवार्य गर्न सुझाव दिएको थियो। साथै, यदि तत्काल OTP प्रणाली लागू गर्न सम्भव नभए डाउनलोड सुविधा केवल नागरिक एपभित्र सीमित गर्न सकिने विकल्प पनि प्रस्तुत गरेको थियो।

OTP सुरक्षा थपिनु सकारात्मक कदम भए पनि अझै एउटा विषयमा ध्यान दिनुपर्ने देखिन्छ। राष्ट्रिय परिचयपत्र बनाउँदा दर्ता गरिएको मोबाइल नम्बर प्रयोगकर्तासँग नहुने अवस्था पनि हुन सक्छ, विशेष गरी वैदेशिक रोजगारी वा अन्य कारणले पुरानो नम्बर प्रयोगमा नरहेका व्यक्तिहरूका हकमा।

यस्तो अवस्थामा मोबाइल OTP सँगै इमेलमार्फत पनि प्रमाणीकरण गर्ने विकल्प उपलब्ध गराउन सके प्रणाली अझ सुरक्षित र प्रयोगकर्तामैत्री बन्न सक्छ।

डिजिटल सेवामा सुरक्षालाई प्राथमिकता

राष्ट्रिय परिचयपत्रजस्तो संवेदनशील प्रणाली नागरिकको व्यक्तिगत डाटा, पहिचान र गोपनीयतासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। त्यसैले यस्ता डिजिटल सेवामा सुविधा मात्र होइन, बलियो सुरक्षा व्यवस्था पनि उत्तिकै आवश्यक हुन्छ।

OTP आधारित प्रमाणीकरण थपिनुलाई नागरिकको डाटा सुरक्षातर्फको सकारात्मक कदमका रूपमा लिन सकिन्छ। अब आगामी दिनमा सम्बन्धित निकायले प्रणालीको सुरक्षा थप सुदृढ बनाउँदै आवश्यक परे इमेल भेरिफिकेशनलगायत थप सुरक्षा तहहरू पनि समावेश गर्ने अपेक्षा गरिएको छ।

DISCLAIMER +

यो समाचार AI को सहायताले अनुवाद गरिएको हो, तर प्रकाशनअघि सम्पादकीय टोलीद्वारा यसको समीक्षा तथा तथ्य जाँच गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%
😊
खुसी
2%
😢
दुःखी
1%
🤔
अचम्मित
4%
😆
उत्साहित
1%
😡
आक्रोशित
Google Add as preferred on Google