सबै सकियो, तर घमण्ड उस्तै रह्यो
छँदाखाँदाको प्रधानमन्त्री पद गयो।
संसदमा दोस्रो दलको हैसियत गयो।
आफूसहित ७८ जनाको सांसद पद गयो,
र बालकोटमा भएको दामी घर पनि गयो।
भएभरको सबै चिज गयो।
तर पनि घमण्ड र अहंमता भने जाँदै गएन।
यी महान् व्यक्ति हुन् केपी शर्मा ओली।
ओलीले अरू त अरू अब त आफ्नो आलोचना गर्ने आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समेत लफङ्गा भनेर खुलमखुल्ला बोल्न थालिसकेका छन्। यति मात्र हैन, ओलीका अनुसार ३ करोड जनसंख्या रहेको हाम्रो यो देशमा हाल एमालेका नेता तथा कार्यकर्ताको संख्या जम्मा १४ लाख ५५ हजार ८८५ मात्र रहेको छ।
किनकि ओलीले भनेका छन्, “जसले चुनावमा एमालेलाई भोट हालेन, ती व्यक्ति कसरी एमाले हुन सक्छ?” यो हिसाबबाट ८२ फागुनको निर्वाचनमा एमालेले समानुपातिकतर्फ पाएको जम्मा मत यति हो।
एमाले भन्ने पार्टीको इतिहास निकै गर्विलो छ। चाहे देशमा प्रजातन्त्र ल्याउने कुरामा होस् वा ६२/६३ कै कुरा किन नहोस्। चाहे त्यो वृद्धभत्ताको सुरुवात गर्ने कुरा होस् वा २०५१ मा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियानको सुरुवात गर्ने, यी सबैको श्रेय एमालेलाई जान्छ नै।
यस्तै, यो पार्टीले विगतमा मदन भण्डारीजस्तो जननेता पाएको थियो, जसले जनताको बहुदलीय जनवाद अर्थात् जबजको सिद्धान्तलाई स्थापित गराउन सफल भएका थिए। तर यति लामो इतिहास बोकेको एमाले आज आएर एक व्यक्तिको घमण्ड र अहंमताले गर्दा अब दिउँसै टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्न लागिसकेको छ।
यो देशमा जेन्जी आन्दोलन हुनु, त्यसपछि हाल रास्वपाको १८२ सिट आउनु र ७८ सिटको एमाले २५ सिटमा झर्नुमा सबैभन्दा मुख्य भूमिका उ बेलाका प्रधानमन्त्री केपी ओलीकै छ भन्दा अन्याय नहोला। किनकि ओली सरकारले त्यस दिन हचुवाको भरमा सामाजिक सञ्जाल बन्द नगरिदिएको भए, न त जेन्जी आन्दोलन हुन्थ्यो अनि न त आज यो दिन नै आउँथ्यो।
यति मात्र हैन, भदौ २३ गतेको जेन्जी आन्दोलनमा घुसपैठ हुन सक्छ भन्ने कुरा राज्य संयन्त्र प्रयोग गरी पहिले नै पूर्वअनुमान गर्न सकेको भए वा भदौ २३ को राति आफूले राजीनामा दिएर देशमा आर्मी परिचालन गरिदिएको भए पनि
यो देशमा यति ठूलो क्षति हुन पाउँदैनथ्यो। तर “मलाई कसले के गर्न सक्छ र?” भन्ने घमण्डकै कारण आज देशमा यस्तो परिस्थिति बनेको हो। त्यसैले खासगरी रास्वपाका नेता तथा कार्यकर्ताहरूले यो विषयमा ओलीलाई धन्यवाद दिँदा फरक पर्दैन। किनकि उनको घमण्डको उपज आजको यो सत्ता हो।
तर जो जति जना वास्तविक रूपमा एमाले पार्टीको विचार र सिद्धान्तलाई पछ्याउने व्यक्ति छन्, उनीहरूका लागि चाहिँ केपी ओलीको यो घमण्ड आत्मघाती प्रहार साबित भयो। एमाले पार्टीको विरासत सक्काउने एउटा दुःखद क्षण बन्यो।
त्यसैले माथि भनेको जेन्जी आन्दोलनपछि सबै कुरा गयो, तर ओलीको घमण्ड जहाँको त्यहीँ छ। अब हेर्न यो बाँकी छ कि अझै पनि नगएको एक जनाको घमण्डले सिङ्गो एमालेलाई कति तलसम्म पुर्याउँछ भन्ने।
खैर, निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा हुँदै इलाम पुगेका ओलीले पुरानै तेवरमा आएर रास्वपा सरकारविरुद्ध कडा आलोचना गरे।
“बजाउन नजान्नेको हातमा मादल दिँदा राम्रो सङ्गीत नआउने” भन्दै कटाक्ष गर्नुका साथै अब देश आफूहरूले चलाउनुपर्ने देखिएकोसम्म दाबी गरे।
विपक्षी भएपछि सत्तापक्षको आलोचना गर्नु कुनै अनौठो थिएन, तर ओलीले सत्तापक्षको मात्र नभएर आफ्नै पार्टीका नेता तथा कार्यकर्ता, जसले फरक विचार राख्छन्, उनीहरूलाई सिधै ‘आवारा’ भनिदिए।
ओलीले भने, “पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही आवाराहरूले मलाई हटाउने कुरा गर्दो रहेछ।” ओलीको यो अभिव्यक्तिपछि अहिले एमालेभित्र राम्रै हलचल मच्चिएको छ।
केही समयअगाडिदेखि नै एमालेमा नेतृत्व फेर्ने बहस चले पनि जेन्जी आन्दोलनपछि यसले निकै ठूलो स्थान पाएको थियो। तर आन्दोलनपछि भएको महाधिवेशनमा महेश बस्नेतलगायत नेताको सक्रियताले गर्दा पुनः ओलीलाई नै अध्यक्ष बनाइयो भने
ओलीविरोधी आवाजहरूलाई क्रमशः दबाउँदै लगियो। जसको फलस्वरूप अहिले आएर ओलीले भन्न थाले, “विरोध गर्नेहरू पार्टी छाडेर जाँदा हुन्छ।”
खैर, अन्त्यमा भिरमा जान लागेकोलाई बिचरा मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिन्न भनेजस्तै, यति सबै हुँदा पनि नचेतेका ओलीजीलाई भन्न चाहन्छु—तपाईंको घमण्ड र अहंमता तपाईंलाई नै मुबारक।

