घरमै बसेर राष्ट्रिय परिचयपत्र प्रयोगकर्ताले आफ्नै फोनमा डाउनलोड गर्न मिल्ने व्यवस्था सरकारले गत बुधबारदेखि नै ल्याएको भए पनि, यो प्रणालीमा रहेको एउटा गम्भीर कमजोरी, जसका कारण करोडौँ नेपालीको डाटा सजिलै स्क्यामरहरूको हातमा पर्न सक्ने जोखिमबारे खोज समाचारले हिजो अर्थात् २०८३ असार ६ गते (June 20, 2026) विस्तृत भिडियो रिपोर्ट र समाचार प्रकाशन गरेको थियो।
खोज समाचारले के खुलासा गरेको थियो?
जसमा खोज समाचारले हाल जो कसैको पनि राष्ट्रिय परिचयपत्र हेर्न वा डाउनलोड गर्न कुनै पनि OTP वा भेरिफिकेशन आवश्यक नपर्ने, केवल नाम, जन्ममिति र नागरिकताको जारी मिति थाहा भएमा जो कसैले पनि सजिलै जसको पनि राष्ट्रिय परिचयपत्र हेर्न र डाउनलोड गर्न सक्ने भएकाले करोडौँ नेपालीको डाटा सजिलै चोरी हुन सक्ने कुरालाई विशेष प्राथमिकताका साथ उठान गरेको थियो।
यो विषयलाई समेटेर खोज समाचारले बनाएको उक्त भिडियोलाई फेसबुकमा हालसम्म ६१ हजारभन्दा बढीले लाइक, १ हजारभन्दा बढीले कमेन्ट र २३ सयभन्दा बढी प्रयोगकर्ताले शेयर गरिसकेका छन्। भिडियो हेर्नुहोस्
वेबसाइटको नेपाली संस्करणमा प्रकाशित समाचारलाई १८ सयभन्दा बढीले शेयर गरेका छन्। समाचार पढ्नुहोस्
खोज समाचारले आफ्नो फेसबुकमा अपलोड गरेको उक्त भिडियोको कमेन्ट सेक्सनमा धेरै जनाले सरकारलाई यो गम्भीर त्रुटि तुरुन्तै सच्याउन आग्रह गरेका छन् भने, केही प्रयोगकर्ताले खोज समाचारले सरकारको विरोध गरेको भन्दै सञ्चालक रोशन श्रेष्ठलाई गालीसमेत गरेका छन्।
२४ घण्टाभित्रै डाउनलोड सुविधा बन्द
तर नभन्दै खोज समाचारले उक्त कमजोरी पहिल्याउँदै समाचार र भिडियो बनाएको २४ घण्टाभित्रै सरकारले राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न नमिल्ने बनाएको छ। अहिले सरकारको उक्त साइटमा जान खोज्दा साइट खुल्दैन भने, सिटिजन पोर्टलबाट पनि डाउनलोड गर्न मिल्ने विकल्प हटाइएको छ।

राष्ट्रिय परिचयपत्र डाउनलोडसँग सम्बन्धित वेबपेज हाल उपलब्ध छैन। स्क्रिनसटमा 404 (Page Not Found) त्रुटि देखिएको छ।
खोज समाचारले सरकारलाई के सुझाव दिएको थियो?
खोज समाचारले अघिल्लो अनुसन्धानमा कमजोरी मात्र देखाएको थिएन, बरु यसको समाधानस्वरूप दुईवटा विकल्पसमेत सरकारलाई सुझाएको थियो।
जसमा राष्ट्रिय परिचयपत्र डाउनलोड प्रणाली सुरक्षित बनाउन दुईवटा मुख्य सुझाव दिएको थियो।
पहिलो, राष्ट्रिय परिचयपत्र हेर्न वा डाउनलोड गर्नुअघि OTP आधारित भेरिफिकेशन अनिवार्य गरिनुपर्ने सुझाव दिएको थियो।
दोस्रो, यदि तत्काल OTP प्रणाली लागू गर्न सम्भव नभए राष्ट्रिय परिचयपत्र डाउनलोड सुविधा केवल नागरिक एपभित्र सीमित गर्न सकिने विकल्प पनि खोज समाचारले प्रस्तुत गरेको थियो।
अब के होला?
खोज समाचारले उक्त सुरक्षा कमजोरी सार्वजनिक गरेको २४ घण्टाभित्रै राष्ट्रिय परिचयपत्र डाउनलोड सुविधा बन्द गरिएको छ। अपेक्षा छ कि सम्बन्धित निकायले यो सुरक्षा कमजोरीलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक सुधारपछि मात्र सेवा पुनः सञ्चालन गर्नेछ।
राष्ट्रिय परिचयपत्रजस्तो संवेदनशील प्रणाली नागरिकको व्यक्तिगत डाटा, पहिचान र गोपनीयतासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसमा कुनै पनि प्रकारको सुरक्षा कमजोरीलाई बेवास्ता गर्न मिल्दैन।
डिजिटल नेपाल निर्माणको अभियान अन्तर्गत नागरिकलाई घरमै बसेर सेवा उपलब्ध गराउनु सकारात्मक कदम भए पनि त्यस्ता सेवाहरूको आधार बलियो सुरक्षा हुनुपर्छ। आशा छ कि अब सम्बन्धित निकायले आवश्यक सुरक्षा तहहरू थपेर, नागरिकको डाटा सुरक्षित रहने सुनिश्चित गर्दै अझ सुरक्षित र भरपर्दो प्रणालीसहित राष्ट्रिय परिचयपत्र डाउनलोड सेवा पुनः सञ्चालन गर्नेछ।