उद्योगमन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, व्यापार र लगानीमा छलफल

नेपाल र अष्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका सम्भावनाबारे छलफल भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच बिहीबार भएको शिष्टाचार भेटमा आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको हो।
भेटमा दुई देशबीचको विद्यमान सम्बन्ध, व्यापार प्रवर्द्धन, लगानी विस्तार र आपसी हितका क्षेत्रमा सहकार्य बढाउने सम्भावनाबारे विचारविमर्श भएको थियो।
छलफलका क्रममा मन्त्री साहले नेपालको आर्थिक विकासमा अन्तर्राष्ट्रिय साझेदारीको महत्त्वबारे चर्चा गर्दै अष्ट्रेलियासँग व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय उठाएका थिए।
सोही अवसरमा उनले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीका बेला अष्ट्रेलिया सरकारले नेपाललाई उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गरे। विपद्का समयमा अष्ट्रेलियाले देखाएको सद्भाव र समर्थनको उनले प्रशंसा गरेका थिए।
भेटमा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार विस्तार र पारस्परिक हितका क्षेत्रमा नयाँ अवसर पहिचान गर्ने विषयमा पनि छलफल भएको थियो।
नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक तथा व्यापारिक साझेदारीमार्फत थप सुदृढ बनाउने साझा चासोका साथ भेटवार्ता सम्पन्न भएको जनाइएको छ।






