ठमेलको होटलबाट ५० लाख ५० हजारसहित दुई जना पक्राउ

ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट विदेशी मुद्रा पनि बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा स्रोत नखुलेको रकम लुकाएर राखिएको सूचना पाएपछि बुधबार दिउँसो १ बजेतिर प्रहरी वृत्त लैनचौरबाट टोली खटिएको थियो ।
होटलमा जाँच गर्दा चितवनको बिसौनी घर भई ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४ हजार २१५.०९ र यूएई दिराम ५५ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






