घरमै बसेर यसरी डाउनलोड गर्नुहोस् राष्ट्रिय परिचयपत्र (भिडियो सहित)

Read this article also in : English

आहा, अब चाहिँ हामीले सोचेको डिजिटल नेपालको साँच्चिकै सुरुवात भएको जस्तो देखिन्छ। अबदेखि तपाईंले आफ्नो राष्ट्रिय परिचयपत्र (National ID Card) घरमै बसेर, आफ्नै मोबाइल फोनबाट सजिलै डाउनलोड गर्न सक्नुहुन्छ।

सोच्नुस् त, नागरिकता हरायो भने त्यसलाई पुनः बनाउन कति झन्झटिलो प्रक्रिया पार गर्नुपर्थ्यो। तर अब तपाईंले आफ्नो राष्ट्रिय परिचयपत्र जति पटक हराए पनि अनलाइनबाटै डाउनलोड गर्न सक्नुहुन्छ।

सजिलो त एकदमै भएको छ। तर यो सजिलोसँगै सरकारले राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने प्रक्रियामा एउटा गम्भीर कमजोरी पनि छाडेको देखिन्छ, जसलाई तत्काल सच्याइएन भने धेरै नागरिकको संवेदनशील कागजात स्क्यामरहरूको हातमा पुगेर साइबर फ्रडको जोखिम अत्यन्तै बढ्न सक्छ।

राष्ट्रिय परिचयपत्र कसरी डाउनलोड गर्ने ?

राष्ट्रिय परिचयपत्र डाउनलोड गर्नका लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा Google खोल्नुहोस्।

त्यसपछि त्यहाँ “NID Nepal” भनेर सर्च गर्नुहोस्।

यति सर्च गर्नेबित्तिकै तपाईंको अगाडि “Download Your ENID” भन्ने विकल्प देखिन्छ। त्यसमा क्लिक गर्नुहोस्।

त्यसपछि एउटा फारम खुल्छ।

सबैभन्दा माथि आफ्नो पूरा नाम नेपालीमा लेख्नुहोस्।

त्यसको तल आफ्नो पूरा नाम अंग्रेजीमा लेख्नुहोस्।

त्यसपछि विक्रम संवत् अनुसार आफ्नो जन्ममिति लेख्नुहोस्। उदाहरणका लागि वर्ष, महिना र गते उल्लेख गर्नुहोस्।

जन्ममिति लेखिसकेपछि त्यसको तल नागरिकता जारी भएको मिति लेख्नुपर्ने हुन्छ। यो मिति तपाईंको नागरिकताको पछाडिको भागमा उल्लेख गरिएको हुन्छ।

त्यसपछि अन्तिममा Captcha Box आउँछ। त्यहाँ तल देखिएको अक्षर वा अंक जस्ताको त्यस्तै टाइप गर्नुपर्छ।

ध्यान दिनुहोस्, यदि क्यापिटल लेटर छ भने क्यापिटल नै, स्मल लेटर छ भने स्मल नै लेख्नुपर्छ।

यदि तपाईंको फोनमा Captcha Box नखुल्ने र घुमिरहने समस्या देखिएको छ भने Google को सट्टा Chrome, Safari वा अन्य Browser प्रयोग गरेर यही प्रक्रिया दोहोर्याउन सक्नुहुन्छ।

वा राति १० बजेपछिको समयमा प्रयास गर्नुभयो भने पनि यो समस्या कम देखिने सम्भावना हुन्छ।

अब Captcha पूरा गरेपछि तल रहेको Search बटनमा क्लिक गर्नुहोस्।

यदि तपाईंले पहिले नै बायोमेट्रिक प्रक्रिया पूरा गरेर राष्ट्रिय परिचयपत्र बनाइसक्नुभएको छ भने तपाईंको कार्ड स्क्रिनमा देखिन्छ।

त्यसपछि तल रहेको “Download Card” मा क्लिक गर्नुहोस्।

त्यसपछि पुनः देखिने Download बटनमा क्लिक गर्नुहोस्।

यसपछि डाउनलोड प्रक्रिया सुरु हुन्छ।

डाउनलोड भएको PDF खोल्न पासवर्ड कसरी राख्ने ?

डाउनलोड प्रक्रिया सुरु भएपछि एउटा सूचना देखिन्छ।

त्यसमा उल्लेख भएअनुसार राष्ट्रिय परिचयपत्र PDF फाइलको रूपमा डाउनलोड हुन्छ र त्यो PDF खोल्न ८ अंकको पासवर्ड आवश्यक पर्छ।

यो पासवर्ड बनाउने तरिका भने यस्तो छ–

तपाईंको नामको सुरुको ४ अक्षर CAPITAL LETTER मा लेख्ने र त्यसपछि जन्मेको साल लेख्ने।

उदाहरणका लागि मेरो नाम रोशन श्रेष्ठ हो भने:

ROSH + 2050

अर्थात् मेरो पासवर्ड ROSH2050 हुन्छ।

तपाईंको हकमा पनि नामको सुरुका ४ अक्षर CAPITAL LETTER मा र त्यसपछि आफ्नो जन्म वर्ष राख्नुपर्छ।

डाउनलोड भएको PDF मोबाइलको File Manager मा सुरक्षित हुन्छ वा डाउनलोड सकिएपछि Open मा क्लिक गरेर पनि हेर्न सकिन्छ।

त्यसपछि माथि उल्लेख गरिएको पासवर्ड हालेर राष्ट्रिय परिचयपत्र सजिलै हेर्न सकिन्छ।

राष्ट्रिय परिचयपत्र डाउनलोड प्रणालीमा खोज समाचारले औंल्याएको गम्भीर सुरक्षा कमजोरी

खोज समाचारले राष्ट्रिय परिचयपत्र डाउनलोड प्रक्रियाको अध्ययन गर्दा एउटा गम्भीर सुरक्षा कमजोरी फेला पारेको छ। हामीले माथि हेरेअनुसार राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न मुख्य रूपमा तीनवटा विवरण मात्र आवश्यक पर्दछ।

१. पूरा नाम
२. जन्ममिति
३. नागरिकता जारी भएको मिति

यी तीनवटा विवरण भएलगत्तै कुनै अतिरिक्त भेरिफिकेशनबिना राष्ट्रिय परिचयपत्र हेर्न र डाउनलोड गर्न सम्भव देखिन्छ। पहिलो नजरमा यो प्रक्रिया अत्यन्तै सहज र प्रयोगकर्तामैत्री लाग्न सक्छ। तर डाउनलोड गर्न जति सजिलो छ, त्योभन्दा धेरै ठूलो जोखिम पनि यसमा लुकेको हुन सक्छ।

किनभने यदि कुनै व्यक्तिले यी तीनवटा विवरण प्राप्त गर्यो भने उसले सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्र पहुँच गर्न सक्ने सम्भावना देखिन्छ। विशेषगरी, हालको प्रक्रियामा ओटिपी (OTP), मोबाइल नम्बर भेरिफिकेशन, इमेल भेरिफिकेशन वा अन्य कुनै दोस्रो सुरक्षा तह अनिवार्य देखिँदैन, जसले नागरिकको व्यक्तिगत विवरणको सुरक्षाबारे प्रश्न उठाएको छ।

किन जोखिममा पर्न सक्छन् नागरिक ?

उदाहरणका लागि, मानौं कुनै व्यक्तिको नाम रोशन श्रेष्ठ छ। पहिलो विवरण अर्थात् नाम थाहा पाउन खासै गाह्रो हुँदैन।

दोस्रो चरणमा यदि कसैले Google मा गएर “Roshan Shrestha Date of Birth” भनेर खोज्यो भने, सार्वजनिक रूपमा उपलब्ध स्रोतहरूबाट जन्ममिति समेत फेला पार्न सक्ने सम्भावना रहन्छ।

रोशन श्रेष्ठ मात्र होइन, धेरै सार्वजनिक व्यक्तिहरूको जन्ममिति इन्टरनेटमा उपलब्ध छ। जस्तै बालेन शाह, रवि लामिछाने, केपी शर्मा ओली, नरेन्द्र मोदी लगायत धेरै सार्वजनिक व्यक्तिहरूको जन्ममिति Google मा सहजै भेटिन्छ।

अब नाम र जन्ममिति थाहा भएपछि बाँकी रह्यो नागरिकता जारी भएको मिति। यदि कुनै कारणवश कसैले त्यो मिति पनि थाहा पायो भने उसले सरकारी वेबसाइटमार्फत सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने अवस्था रहन्छ।

अझ महत्त्वपूर्ण कुरा, हालको प्रक्रियामा—

  • कुनै OTP छैन
  • कुनै मोबाइल भेरिफिकेशन छैन
  • कुनै इमेल भेरिफिकेशन छैन
  • कुनै दोस्रो सुरक्षा तह छैन

यही कारणले गर्दा नागरिकको व्यक्तिगत विवरण तेस्रो व्यक्तिको हातमा पुगेमा त्यसको दुरुपयोग हुन सक्ने जोखिमबारे गम्भीर प्रश्न उठेको छ।

‘मेरो जन्ममिति त गुगलमा छैन’ भन्नेले पनि एकपटक सोच्नुस्

कतिपयलाई लाग्न सक्छ, “सार्वजनिक व्यक्तिहरूको पो जन्ममिति Google मा हुन्छ, मेरो त छैन।” तर एकपटक सम्झनुस्, तपाईंले आफ्नो नागरिकता र व्यक्तिगत विवरण जीवनमा कति ठाउँमा उपलब्ध गराइसक्नुभएको छ ?

  • फोटोकपी पसलमा
  • सिम कार्ड निकाल्दा
  • बैंक वा सहकारीमा
  • म्यानपावर कम्पनीमा
  • एजेन्टलाई
  • अध्ययन वा वैदेशिक रोजगारीका कागजातमा
  • विभिन्न सरकारी तथा निजी संस्थामा
  • कतिपय अवस्थामा सामाजिक सञ्जालमै पनि

यीमध्ये कुनै एक स्थानबाट मात्रै पनि तपाईंको नाम, जन्ममिति र नागरिकता जारी मिति बाहिरियो वा गलत व्यक्तिको हातमा पुग्यो भने, त्यसको दुरुपयोग हुन सक्ने जोखिमलाई पूर्ण रूपमा नकार्न सकिँदैन। यही कारणले राष्ट्रिय परिचयपत्र डाउनलोड प्रक्रियामा थप सुरक्षा तह आवश्यक रहेको भन्दै प्रश्न उठ्न थालेको छ।

स्क्यामरहरूले राष्ट्रिय परिचयपत्रको दुरुपयोग कहाँ-कहाँ गर्न सक्छन् ?

तपाईंको कुनै पनि सरकारी कागजात अरू कसैको हातमा पुग्नु भनेको कानुनी रूपमा ठूलो जोखिम सिर्जना हुनु हो।

किनभने अहिलेको युग डिजिटल युग हो।

यस्तो कागजात प्रयोग गरेर स्क्यामरहरूले तपाईंको नाममा नक्कली Facebook, X (Twitter), Instagram लगायतका अकाउन्ट खोल्न सक्छन्।

कतिपय अवस्थामा ती अकाउन्टहरू भेरिफाइड (Blue Tick) समेत गराउन सकिन्छ।

त्यसपछि त्यही अकाउन्ट प्रयोग गरेर अरूलाई ठगी गर्न सकिन्छ।

यस्तै,

  • विभिन्न अनलाइन सेवामा KYC Verification गर्न
  • डिजिटल वालेट खोल्ने प्रयास गर्न
  • विभिन्न प्लेटफर्ममा अकाउन्ट बनाउन
  • फिसिङ आक्रमण सञ्चालन गर्न
  • थप व्यक्तिगत विवरण सङ्कलन गर्न
  • भविष्यका साइबर अपराधको आधार तयार गर्न

जस्ता गतिविधिमा पनि यस्ता कागजात प्रयोग हुन सक्छन्।

एक लाइनमा भन्नुपर्दा, तपाईंको सरकारी कागजात गलत व्यक्तिको हातमा पुग्यो भने तपाईंले नगरेको कामको दोष समेत तपाईंमाथि आउन सक्ने जोखिम रहन्छ।

अब सरकारले के गर्नुपर्छ ?

यस्तो संवेदनशील प्रणालीलाई सुरक्षित बनाउन सरकारले केही महत्वपूर्ण कदम तत्काल चाल्न आवश्यक देखिन्छ।

१. OTP आधारित भेरिफिकेशन अनिवार्य गर्नुपर्छ

राष्ट्रिय परिचयपत्र हेर्न वा डाउनलोड गर्नुअघि एउटा अतिरिक्त सुरक्षा तह थपिनुपर्छ।

जसमा सम्बन्धित प्रयोगकर्ताको मोबाइल नम्बर, WhatsApp वा इमेलमा OTP जाने व्यवस्था हुनुपर्छ।

OTP प्रविष्ट गरेपछि मात्र राष्ट्रिय परिचयपत्र हेर्न वा डाउनलोड गर्न मिल्ने प्रणाली बनाउन आवश्यक छ।

धेरै नेपाली वैदेशिक रोजगारीका लागि विदेशमा रहेका कारण नेपालमा प्रयोग भएको मोबाइल नम्बर उनीहरूसँग नहुन सक्छ।

त्यसैले इमेलमार्फत पनि कोड प्राप्त हुने व्यवस्था अनिवार्य हुनुपर्छ।

२. राष्ट्रिय परिचयपत्र डाउनलोड केवल नागरिक एपबाट मात्र उपलब्ध गराउनुपर्छ

यदि तत्काल OTP प्रणाली लागू गर्न सम्भव छैन भने अर्को विकल्प भनेको राष्ट्रिय परिचयपत्र वेबसाइटबाट डाउनलोड गर्न नदिई केवल नागरिक एपमार्फत मात्र उपलब्ध गराउनु हो।

किनभने नागरिक एपमा प्रवेश गर्नुअघि नै विभिन्न तहको प्रमाणीकरण आवश्यक हुन्छ। यसले अनधिकृत व्यक्तिले अरूको विवरण हेर्न वा डाउनलोड गर्न सक्ने सम्भावना निकै कम हुन्छ।

त्यसैले राष्ट्रिय परिचयपत्र डाउनलोडको सुविधा वेबसाइटभन्दा नागरिक एपभित्र सीमित गरियो भने पनि सुरक्षा उल्लेखनीय रूपमा बढ्न सक्छ।

निष्कर्ष

अन्त्यमा, खोज समाचार सरकार, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सम्बन्धित प्राविधिक टोलीलाई यो सम्भावित सुरक्षा कमजोरीमाथि गम्भीर ध्यान दिन र आवश्यक परे समयमै सुधार गर्न आग्रह गर्दछ।

किनकि नागरिकको व्यक्तिगत डाटा र सरकारी कागजातजस्तो संवेदनशील विषयमा सानो कमजोरीले पनि भोलिको दिनमा ठूलो क्षति निम्त्याउन सक्छ। डिजिटल दुनियाँले जति धेरै सुविधा दिन्छ, त्यति नै धेरै डाटा चोरी, पहिचान दुरुपयोग र साइबर अपराधको जोखिम पनि बढ्छ।

घरमै बसेर राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सुविधा डिजिटल नेपालको सकारात्मक कदम हो। तर यस्ता सेवाको सफलताको आधार केवल सुविधा मात्र होइन, त्यसको सुरक्षा पनि हो।

त्यसैले राष्ट्रिय परिचयपत्र जस्तो अत्यन्त संवेदनशील प्रणालीमा सुरक्षा पक्षलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सुधार समयमै गरिनु जरुरी छ। खोज समाचारको अपेक्षा छ कि सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी नागरिकको डाटा सुरक्षाका लागि आवश्यक कदम चाल्नेछन्।

राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने सम्पूर्ण प्रक्रिया (भिडियो)

राष्ट्रिय परिचयपत्र कसरी डाउनलोड गर्ने, PDF पासवर्ड कसरी प्रयोग गर्ने तथा यससँग सम्बन्धित सुरक्षा चिन्ताबारे विस्तृत जानकारी तलको भिडियोमा हेर्न सक्नुहुन्छ।

DISCLAIMER +

यो समाचार AI को सहायताले अनुवाद गरिएको हो, तर प्रकाशनअघि सम्पादकीय टोलीद्वारा यसको समीक्षा तथा तथ्य जाँच गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
😊
खुसी
18%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
Google Add as preferred on Google