पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
प्रहरी पोसाकमा पूर्वआईजीपी
पूर्वआईजीपी (फाइल तस्बिर)

प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । उक्त रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको छ ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो । सोही दिन मन्त्रिपरिषद् बैठकले डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो ।

विज्ञापन
khoj2

सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च पुगेका कार्कीले आफूलाई आईजीपी पदमै पुनर्बहाली गर्न माग गरेका छन् ।

रिटमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।

गत ७ मंसिरमा न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटको पेसी परेको थियो । तर, आईजीपी केसीले अदालतको म्याद बुझेको प्रमाण पेस नभएपछि सुनुवाइका लागि ९ मंसिरको पेसी तोकिएको थियो ।

आजको सुनुवाइमा कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षबीच छलफल हुने अपेक्षा गरिएको छ ।