चितवनको कालिकामा जिप दुर्घटना, एकको मृत्यु, १० घाइते
कालिका नगरपालिकामा जिप र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १० जना घाइते भएका छन्।
कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट वनकट्टातर्फ गइरहेको बाप्र.३–०१–०२४ च ३४७३ नम्बरको जिप ठोक्किएका हुन्।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइते अवस्थामा अस्पताल पुर्याइएकी उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा जिप र ट्याक्टरमा सवार गरी थप १० जना घाइते भएका छन्। जिप चालकसमेत घाइते रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके स्याङ्वोलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारणबारे थप विवरण खुलिसकेको छैन। घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

