कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, चार घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो। धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशिला बमको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनालगत्तै मोटरसाइकलमा सवार तीन जना र स्कुटरमा सवार दुई जना गरी पाँचै जनालाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो।
स्वास्थ्य अवस्था गम्भीर भएपछि बमलाई शुक्रबार बिहान २ बजेर २६ मिनेटमा थप उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो। उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकको शव मायामेट्रो अस्पतालमै राखिएको छ। दुर्घटनामा घाइते भएका अन्य चार जनाको अवस्थाबारे थप विवरण प्राप्त भएको छैन।
दुर्घटनामा संलग्न मोटरसाइकल र स्कुटर दुवै नियन्त्रणमा लिइएको छ।






