सन्दीप, रोहितसहित राष्ट्रिय टोलीका ९ क्रिकेटर ‘टिम एक्सट्रीम’मा

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सन्दीप, रोहितसहित राष्ट्रिय टोलीका ९ क्रिकेटर ‘टिम एक्सट्रीम’मा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकसँग व्यावसायिक सहकार्यमा जोडिएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनी र खेलाडीबीच यससम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम सहभागी छन्। उनीहरू अब कम्पनीले बनाएको ‘टिम एक्सट्रीम’अन्तर्गत रहनेछन्।

विज्ञापन
khoj2

सम्झौतापछि यी खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो राखिनेछ। त्यस्तै, कम्पनीले सञ्चालन गर्ने ब्रान्ड तथा खेलकुदसँग सम्बन्धित केही कार्यक्रममा पनि उनीहरूको सहभागिता रहने बताइएको छ।

खेलाडीको मैदानभित्रको प्रदर्शनसँगै उनीहरूको सार्वजनिक प्रभावलाई व्यावसायिक सहकार्यमा जोड्ने अभ्यास नेपाली क्रिकेटमा पछिल्लो समय बढ्दो छ। राष्ट्रिय टोली र फ्रेन्चाइज क्रिकेटको लोकप्रियता विस्तार हुँदै जाँदा खेलाडीहरूसँग ब्रान्डको प्रत्यक्ष सहकार्य पनि बढिरहेको देखिन्छ। एक्सट्रीमसँगको पछिल्लो सम्झौता त्यसैको अर्को उदाहरण हो।

कम्पनीले भने यो सहकार्यलाई नेपाली क्रिकेट र खेलाडीको प्रोत्साहनसँग जोडेको छ। युवापुस्तामा क्रिकेटप्रतिको बढ्दो चासोलाई ध्यानमा राखेर खेलाडीसँग सहकार्य गरिएको उसको भनाइ छ।

कार्यक्रममा एक्सट्रीमले नेपाल प्रिमियर लिग (एनपीएल)सँग सम्बन्धित विशेष संस्करणका क्यान पनि सार्वजनिक गरेको छ। एनपीएलमा आफू प्रायोजकका रूपमा जोडिएका सात टोलीलाई आधार बनाएर फरक संस्करण तयार गरिएको कम्पनीले जनाएको छ।

सम्बन्धित टोलीको पहिचान झल्किने गरी तयार गरिएका ती क्यानलाई एनपीएल र त्यसका समर्थकसँग जोडिएको ब्रान्डिङ गतिविधिका रूपमा अघि सारिएको छ।

कम्पनीले आगामी दिनमा पनि क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिमा सहकार्य जारी राख्ने जनाएको छ।