एनपीएलका लागि सुदूरपश्चिम रोयल्समा श्रीलंकाका थनुका दबारे अनुबन्ध
श्रीलंकाका आक्रामक ब्याटर थनुका दबारेको आगमनले सुदूरपश्चिम रोयल्सको शीर्ष क्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्रीलंकाका आक्रामक ब्याटर थनुका दबारेलाई टोलीमा भित्र्याएको छ। शीर्ष क्रममा ब्याटिङ गर्ने दबारेले आवश्यक पर्दा बलिङबाट पनि योगदान दिन सक्छन्।
श्रीलंकाको घरेलु क्रिकेटमा अनुभव बटुलेका दबारेले प्रथम श्रेणी, लिस्ट ए र टी–२० तीनै प्रारूपमा खेलिसकेका छन्। विशेषगरी टी–२० क्रिकेटमा उनको आक्रामक ब्याटिङ टोलीका लागि उपयोगी हुने सुदूरपश्चिमको अपेक्षा छ।
दबारेले हालसम्म खेलेका ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनको नाममा एक शतक र पाँच अर्धशतक छन्। १४२.६५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। ब्याटिङसँगै उनले टी–२० क्रिकेटमा २६ विकेट पनि लिएका छन्।
लिस्ट ए क्रिकेटमा समेत उनको प्रदर्शन उल्लेखनीय छ। ६७ खेलमा एक शतक र नौ अर्धशतकसहित १ हजार ६७८ रन बनाएका दबारेले बलिङतर्फ ६३ विकेट लिएका छन्। त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन जोड्दा ११ विकेट हात पारेका छन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको अनुभव र आक्रामक खेल्ने शैलीले टोलीको ब्याटिङलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
खड्काका अनुसार दबारेको उपस्थितिले शीर्ष क्रममा नयाँ विकल्प उपलब्ध गराउनुका साथै ब्याटिङमा गहिराइ थप्नेछ।
सुदूरपश्चिमसँग सम्झौता गरेपछि दबारेले पनि नेपाल आएर एनपीएल खेल्न आफू उत्साहित रहेको बताएका छन्। उनले टोलीका लागि राम्रो प्रदर्शन गर्ने र उपाधि जित्ने अभियानमा योगदान पुर्याउने लक्ष्य राखेका छन्।
तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिमले दबारेलाई अनुबन्ध गरेसँगै आफ्नो शीर्ष क्रमको ब्याटिङ बलियो बनाउने प्रयास गरेको छ। अब नेपाली मैदानमा उनको आक्रामक ब्याटिङ कत्तिको प्रभावकारी हुन्छ भन्ने चासो रहनेछ।


