विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गरेका छन्।
रुसको राजधानी मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका हुन्।
प्रचण्डको सचिवालयका अनुसार भ्रमणमा उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।
अखिल रुसी राजनीतिक दलको आयोजनामा हुन लागेको सम्मेलनमा विश्वका ६० भन्दा बढी देशबाट राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।
विभिन्न मुलुकका राजनीतिक प्रतिनिधिहरू एकै ठाउँमा भेला हुने उक्त सम्मेलनमा नेपालको तर्फबाट प्रचण्ड सहभागी हुन लागेका हुन्।






