आनी छोइङको नियुक्तिविरुद्धको रिटमा दुवै पक्षलाई बोलाइयो

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाइपछि आगामी सोमबार (१४ मंसिर) दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउन आदेश दिएको हो ।
सरकारको नियुक्तिसम्बन्धी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षको कुरा सुनेपछि अदालतले निर्णय गर्नेछ ।
डोल्माको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सफलता बोगटीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
नागरिकतासम्बन्धी विवाद रहेको र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको अवस्थामा सरकारले डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेको भन्दै रिट निवेदकहरूले उक्त निर्णयमाथि कानुनी प्रश्न उठाएका छन् ।
अदालतले हाल नियुक्ति कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश भने जारी गरेको छैन ।






