सांसदसँग बोल्न पनि नेट चाहिने ? केपी खनाललाई आशिकाको प्रश्न

Read this article also in :English हिन्दी
नीलो सारी र चस्मामा मुस्कुराउँदै आशिका तामाङ।
सांसद आशिका तामाङ। (फाइल तस्बिर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नै पार्टीका सांसद केपी खनालसँग टेलिफोनमार्फत सम्पर्क गर्न खोज्दा ह्वाट्सएपमा कल गर्न भनिएको उल्लेख गर्दै असन्तुष्टि जनाएकी छन्।

धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खनालसँग एउटा सार्वजनिक सरोकारको विषयमा कुरा गर्न फोन गरेको बताएकी हुन्।

विज्ञापन
khoj2

फेसबुकमा स्टाटस लेख्दै तामाङले खनाललाई गरेको फोन उनका स्वकीय सचिवले उठाएको उल्लेख गरेकी छन्। आफूले खनालसँग कुरा गराइदिन आग्रह गर्दा ह्वाट्सएपमा कल गर्न भनिएको उनको दाबी छ।

‘ह्वाट्सएपबाहेक अरूमा कल उठाउनुहुन्न रे ! म त तीन छक्क परेँ,’ तामाङले लेखेकी छन्।

उनले इन्टरनेटको पहुँच नभएका र सामान्य मोबाइल प्रयोग गर्ने नागरिकले आफ्ना जनप्रतिनिधिसँग कसरी सम्पर्क गर्ने भन्ने प्रश्नसमेत उठाएकी छन्।

‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक टुकटुके मोबाइल चलाउनुहुन्छ, ती गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्नुहुन्छ?’ उनले प्रश्न गरेकी छन्।

तामाङको फेसबुक अभिव्यक्तिले सांसदहरूबीचको सम्पर्कको प्रसंगसँगै सर्वसाधारण नागरिकको जनप्रतिनिधिसम्मको पहुँच र गुनासो सुनुवाइको विषयलाई पनि उठाएको छ।

यद्यपि, तामाङले उल्लेख गरेको टेलिफोन संवादको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यस विषयमा सांसद खनाल वा उनको सचिवालयको प्रतिक्रिया सार्वजनिक भएको जानकारी प्राप्त भएको छैन।