आगलागीपछि दमकको भाटभटेनी शनिबारदेखि पुनः सञ्चालनमा
आगलागीबाट ठूलो क्षति बेहोरेको झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर पुनर्निर्माणपछि शनिबारदेखि नियमित सञ्चालनमा आउने भएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले मंसिर ५ गतेदेखि ग्राहकलाई सेवा उपलब्ध गराइने जानकारी दिएका छन्। अध्यक्ष मीनबहादुर गुरुङका अनुसार कठिन परिस्थितिमा पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी जोगाएको छ। पुनर्निर्माणमा कर्मचारी र प्राविधिक टोली चौबीसै घण्टा खटिएको कम्पनीले जनाएको छ।

आगलागीबाट क्षति पुगेको झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउने भएको छ। पुनर्निर्माणको कामपछि मंसिर ५ गते शनिबारदेखि स्टोरले नियमित रूपमा ग्राहकलाई सेवा दिने तयारी गरेको हो।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले शनिबारदेखि दमकको स्टोर नियमित सञ्चालनमा आउने जानकारी दिएका छन्।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार जारी गरेको विज्ञप्तिमा आगलागीबाट ठूलो आर्थिक तथा भौतिक क्षति भए पनि व्यवसाय सञ्चालन र कर्मचारीको रोजगारीलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
गुरुङका अनुसार कठिन परिस्थितिका बीच पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित राखेको छ। क्षतिकै कारण कुनै पनि कर्मचारीलाई कामबाट हटाउनु नपरेको कम्पनीको भनाइ छ।
आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका स्टोरहरू पुनर्निर्माण गर्नु समय र लगानीका हिसाबले चुनौतीपूर्ण रहेको कम्पनीले जनाएको छ। त्यसका बाबजुद कर्मचारी र प्राविधिक टोलीले चौबीसै घण्टा काम गरेर दमकको स्टोर पुनः सञ्चालनमा ल्याउने अवस्था तयार पारेको हो।
स्टोर खुलेसँगै दमक र आसपासका ग्राहकले पुनः नियमित किनमेल गर्न पाउनेछन्। कम्पनीले ग्राहकलाई उपलब्ध गराउँदै आएको आधुनिक सुविधा र सेवाको गुणस्तर कायम राख्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।
पुनर्निर्माणमा खटिएका कर्मचारी, सहयोगी तथा स्टोर खुल्ने प्रतीक्षामा रहेका ग्राहकप्रति भाटभटेनीले आभार व्यक्त गरेको छ।






