धादिङमा बोलेरो ४०० मिटर तल खस्यो, एकको मृत्यु, ६ घाइतेको हवाई उद्धार

धादिङको रुबीभ्याली गाउँपालिका–४ मा गएराति बोलेरो गाडी सडकबाट करिब ४०० मिटर तल खस्दा ६६ वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनासहित ६ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। दुर्गम भूगोल र मोबाइल नेटवर्कको अभावका कारण उद्धारमा कठिनाइ भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
धादिङको पहाडी क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स।
धादिङमा घाइतेको उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्स।

धादिङको दुर्गम रुबीभ्याली क्षेत्रमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका नौ जनामध्ये ६ जनालाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा गएराति करिब १ बजेर ५५ मिनेटमा दुर्घटना भएको हो। लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको थियो।

विज्ञापन
khoj2

दुर्घटनामा बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। चालकसहित नौ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर छ। अन्य घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले घाइतेमध्ये ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जानकारी दिएका छन्।

दुर्घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धारमा कठिनाइ भएको थियो। आसपासमा मोबाइल नेटवर्कसमेत नचल्ने हुँदा घटनाको सूचना आदानप्रदान गर्न र घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या भएको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङले बताएका छन्।

प्राप्त विवरणअनुसार दुर्घटनामा परेको गाडीमा सवार यात्रुहरू बतासे दोभानमा लागेको एकादशी मेलामा सहभागी भएर फर्किएका थिए।