बाढीपहिरोको क्षति बुझ्न आज मन्त्री श्रेष्ठ गण्डकी जाँदै

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
हात जोडेर नमस्कार गर्दै मन्त्री
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ। (फाइल तस्बिर)

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ आज गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर बाढीपहिरोबाट भएको क्षति, ऊर्जा तथा सिँचाइ आयोजनाको अवस्था र स्थानीय नागरिकले भोगिरहेका समस्याबारे स्थलगत जानकारी लिने भएका छन्।

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ पूर्वाधारका समस्या पहिचान गर्नेछन्।

विज्ञापन
khoj2

कास्कीमा पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ। त्यस्तै, स्याङ्जामा जलविद्युत् आयोजनाको अवस्था र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयमा निरीक्षण तथा समीक्षा गरिनेछ।

विपद् प्रभावित नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई गति दिने र भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका उपाय पहिचान गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ स्थलगत अनुगमनमा जान लागेका हुन्।

अनुगमनका क्रममा पहिचान भएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ। तत्काल गर्नुपर्ने कामसँगै दीर्घकालीन पूर्वाधार व्यवस्थापनका लागि आवश्यक योजना तय गर्ने उद्देश्य पनि भ्रमणको रहेको छ।

नागरिककै घरदैलोमा पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुसार मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको स्थलगत अनुगमन गर्न लागेका हुन्।