भारतको राजधानी दिल्लीको मालवीय नगरस्थित एक होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये धेरैजसो विदेशी नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा दर्जनौं मानिस घाइते भएका छन् भने ३७ भन्दा बढीको उद्धार गरिएको छ।
आगलागी फ्लोरिस स्टे नामक होटलको बेसमेन्ट क्षेत्रमा रहेको रेस्टुरेन्टबाट सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ। केही समयमै आगो माथिल्ला तलासम्म फैलिएको थियो। आगोको प्रभाव नजिकै रहेको अर्को होटलसम्म पुगेको बताइएको छ।
उद्धारका लागि ठूलो दमकल परिचालन
घटनाको सूचना प्राप्त हुनासाथ दमकल, प्रहरी, एम्बुलेन्स र विपद् व्यवस्थापनका टोलीहरू घटनास्थलमा पुगेका थिए। आगो नियन्त्रण र उद्धारका लागि १७ वटा दमकल परिचालन गरिएको थियो।
घटनास्थल बाक्लो बस्तीभित्र रहेको र भवनमा प्रवेश तथा बाहिर निस्कने एउटै मात्र बाटो भएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ। होटलमा झ्यालको अभाव र बेसमेन्टसमेत आवासका रूपमा प्रयोग गरिएको तथ्य प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
आगोबाट बच्न केही पाहुना भवनबाट हामफाले
आगलागीको क्रममा ज्यान जोगाउन केही मानिसहरू माथिल्लो तलाबाट हामफालेका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। प्रत्यक्षदर्शीहरूले मानिसहरू सिसा फुटाएर बाहिर निस्कने प्रयास गरिरहेको बताएका छन्।
आगलागी हुँदा अधिकांश पाहुनाहरू सुतिरहेको अवस्थामा रहेको जानकारी पनि बाहिर आएको छ। होटलमा ४० भन्दा बढी पाहुना बसिरहेको बताइएको छ, जसमा उपचार तथा अन्य कामका लागि दिल्ली आएका विदेशी नागरिकहरू पनि थिए।
अग्नि सुरक्षा व्यवस्थामाथि प्रश्न
प्रारम्भिक छानबिनमा होटलसँग वैध अग्नि सुरक्षा प्रमाणपत्र (फायर एनओसी) नभएको पाइएको छ। सरकारी अनुमति सीमित कोठाका लागि भए पनि होटलमा त्यसभन्दा धेरै कोठा सञ्चालन गरिएको आरोप लागेको छ।
घटनापछि दिल्ली प्रहरीले होटल व्यवस्थापनविरुद्ध गैरइरादतन हत्या सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। आगलागीको वास्तविक कारण भने अझै खुल्न बाँकी छ।
मोदीद्वारा राहत घोषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने घोषणा गरेका छन्।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि घटनालाई अत्यन्त दुःखद भन्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।