नौ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नौ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

वर्षौंदेखि आफू बसेको जमिनमा घर–व्यवहार चलाउँदै आए पनि स्वामित्व पुष्टि गर्ने कागज नहुँदा अन्योलमा रहेका धनुषाका २४२ परिवारको प्रतीक्षा अन्ततः टुंगिएको छ। क्षिरेश्वरनाथ नगरपालिका–२ का ती परिवारले नापजाँच भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका हुन्।

साविक रमदैया भवाडी गाविसका वडा नं. १, ५ र ९ अन्तर्गत पर्ने क्षेत्रमा स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो।

विज्ञापन
khoj2

उक्त क्षेत्रको नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो। नापनक्साको काम सकिए पनि त्यसपछिका प्रक्रिया समयमै अघि बढ्न नसक्दा स्थानीयले वर्षौंसम्म जग्गाधनी प्रमाण पुर्जा पाउन सकेका थिएनन्। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले २४२ थान पुर्जा वितरण गरिएको छ।

लालपुर्जा हात परेसँगै सम्बन्धित परिवारको जमिनमाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। पुस्तौंदेखि वा लामो समयदेखि भोगचलन गर्दै आएको जमिन कानुनी रूपमा आफ्नो नाममा नहुँदा उत्पन्न हुने समस्या अब उनीहरूका लागि सहज हुने अपेक्षा गरिएको छ।

जग्गाको स्वामित्व स्पष्ट भएपछि त्यसको किनबेच तथा अन्य कानुनी कारोबार सहज हुने मात्र होइन, बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिनसमेत बाटो खुल्नेछ। स्वामित्वसँग जोडिएका भूमिसम्बन्धी विवाद समाधानमा पनि लालपुर्जाले महत्वपूर्ण कानुनी आधार दिनेछ।

स्ववासी जग्गा दर्ताको प्रक्रियाले घरजग्गामा बसोबास र भोगचलन गर्दै आए पनि प्रमाणित स्वामित्वबाट वञ्चित परिवारलाई प्रत्यक्ष आर्थिक तथा कानुनी लाभ पुर्‍याउने देखिन्छ।

यसअघि पनि धनुषामा स्ववासी जग्गा दर्ताअन्तर्गत ४ हजार ३५४ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरिसकेका छन्। क्षिरेश्वरनाथका थप २४२ परिवारले लालपुर्जा पाएसँगै जिल्लामा यस्तो प्रमाण पुर्जा प्राप्त गर्ने परिवारको संख्या अझ बढेको छ।