बाल हिंसाविरुद्धको विश्व सम्मेलनमा सहभागी हुन तोसिमा कार्की मनिला जाने
फिलिपिन्समा नोभेम्बर १८ र १९ मा हुने सम्मेलनमा बाल संरक्षण, हिंसा रोकथाम र जनस्वास्थ्यका विषयमा छलफल हुने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा रोकथाम र जनस्वास्थ्य संरक्षणका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन्।
फिलिपिन्स सरकारको आयोजनामा नोभेम्बर १८ र १९ मा दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलन हुँदैछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सहआयोजक रहेको सम्मेलनमा विभिन्न मुलुकका मन्त्री, उच्च सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
मुख्य सम्मेलनअघि नोभेम्बर १६ मा संसदीय नेतृत्वसम्बन्धी विशेष कार्यक्रम पनि राखिएको छ। युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रमलाई चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसनले सहयोग गर्नेछ।
कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई सामाजिक समस्याका रूपमा मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषयका रूपमा सम्बोधन गर्ने उपायबारे छलफल हुनेछ।
विभिन्न देशका सांसद र विज्ञहरूले हिंसा रोकथामका लागि अपनाइएका नीतिगत अभ्यास, पीडित बालबालिकालाई उपलब्ध गराउनुपर्ने स्वास्थ्य तथा संरक्षण सेवा र कानुनी व्यवस्थाका विषयमा अनुभव साटासाट गर्नेछन्।
त्यसैगरी, बाल संरक्षणका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था, दिगो वित्तीय स्रोतको पहिचान र सरकारी निकायका कामकारबाहीमाथि संसदीय निगरानी प्रभावकारी बनाउने विषय पनि छलफलको कार्यसूचीमा छन्।
आयोजकहरूका अनुसार बालबालिकामाथि हुने हिंसाको असर तत्काल देखिने शारीरिक चोटपटकमा मात्र सीमित हुँदैन। यसले उनीहरूको मानसिक स्वास्थ्य, अध्ययन, व्यक्तिगत सुरक्षा र सामाजिक विकासमा समेत दीर्घकालीन प्रभाव पार्न सक्छ।
यस्ता घटना रोक्न कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, राजनीतिक प्रतिबद्धता र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको आयोजकहरूको जोड छ।
विशेषगरी स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक संरक्षणका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाएर बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण गर्ने विषयलाई सम्मेलनले प्राथमिकता दिनेछ।






