नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक आजदेखि ड्युटीमा फर्कने

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
वीरगन्जस्थित नेसनल मेडिकल कलेजको मुख्य प्रवेशद्वार
नेसनल मेडिकल कलेज, वीरगन्ज (फाइल तस्बिर)

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा आन्दोलनरत प्रथम वर्षका आवासीय चिकित्सकहरू आजदेखि नियमित ड्युटीमा फर्कने भएका छन्। कटौती गरिएको निर्वाह भत्ता (स्टाइपेन्ड) फिर्ता गर्ने, कार्यसमय व्यवस्थित बनाउने र आन्दोलनमा सहभागी चिकित्सकमाथि कुनै पनि प्रकारको प्रतिशोध नलिने सहमति भएपछि उनीहरूले आन्दोलन अन्त्य गरेका हुन्।

शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालय, नेपाल मेडिकल काउन्सिल, आवासीय चिकित्सक र कलेज प्रशासनबिच भएको वार्ताबाट सहमति जुटेको हो।

विज्ञापन
khoj2

सम्झौताअनुसार अब आवासीय चिकित्सकलाई सातामा दुईभन्दा बढी २४ घण्टे ड्युटीमा खटाउन पाइने छैन। ड्युटीपछिको आरामसम्बन्धी व्यवस्था पनि सम्बन्धित निर्णयअनुसार कार्यान्वयन गरिनेछ।

आन्दोलनमा सहभागी भएको आधारमा कुनै पनि चिकित्सकलाई धम्की दिने, मानसिक दबाबमा राख्ने, दण्डित गर्ने वा कलेज तथा छात्रावासबाट निष्कासन गर्ने काम नगर्न कलेज प्रशासन सहमत भएको छ। नियमित परीक्षा र शोधपत्र स्वीकृतिमा अनावश्यक ढिलाइ गर्ने वा चिकित्सकलाई अयोग्य ठहर्‍याउने कामसमेत गरिने छैन।

राजीनामा दिएका तथा रिलिज लेटर लिएका आवासीय चिकित्सकलाई बिनासर्त पुनः भर्ना गर्ने सहमति पनि भएको छ। स्त्री तथा प्रसूति रोग विभागका ६ जना चिकित्सकको अनुपस्थिति मिलाउने र कटौती भएको स्टाइपेन्ड फिर्ता गर्ने विषयमा आइओएममा पहल गरिनेछ।

त्यस्तै, २०८३ वैशाख १३ गतेदेखि छुटेको हाजिरी पुनः कायम गर्न आइओएमको डिन कार्यालयसँग समन्वय गरिने भएको छ। विभागीय प्रमुखको पुष्टिका आधारमा हाजिरी कायम गरिनेछ भने बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र प्रोग्राम कोअर्डिनेटरको हस्ताक्षर पर्याप्त हुनेछ।

कलेज प्रशासनले सम्झौतामा हस्ताक्षर गर्दै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। आवासीय चिकित्सकहरूले पनि सम्झौताअनुसार आफ्ना माग सम्बोधन हुने विश्वाससहित आजदेखि नियमित ड्युटीमा उपस्थित हुने निर्णय गरेका छन्।