सुकुम्बासी हटाउने सरकारी निर्णयप्रति कांग्रेसको आपत्ति

वैकल्पिक आवासको व्यवस्था नहुँदै अस्थायी आश्रयस्थलबाट समेत सुकुम्बासी परिवारलाई हटाउन खोजिएको भन्दै नेपाली कांग्रेसले सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
घर भत्काइएपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारको स्थायी बसोबासको टुङ्गो नलाग्दै पुनः विस्थापित गर्न खोज्नु संविधानले सुनिश्चित गरेको आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत हुने कांग्रेसको ठहर छ।
बसोबासको व्यवस्थापन र लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएको सरकारले महिनौँसम्म सुकुम्बासी परिवारलाई अनिश्चिततामा राखेको कांग्रेसले जनाएको छ। घरबारविहीन नागरिकलाई आश्रय दिनुपर्ने दायित्व राज्यको भएको भन्दै कांग्रेसले उनीहरूको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या बल प्रयोग र विस्थापनबाट समाधान नहुने कांग्रेसको भनाइ छ।
‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ बैठकको निर्णयमा उल्लेख छ।
यसैबीच, कांग्रेसले होल्डिङ सेन्टरमा समन्वय तथा सहजीकरण गर्न केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा छन्।






