एमालेको राष्ट्रिय भेला आज सकिँदै, दिउँसो केन्द्रीय कमिटी बैठक
काठमाडौंमा बुधबारदेखि जारी नेकपा (एमाले) को दुईदिने राष्ट्रिय भेला आज समापन हुँदैछ। भेलाको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। देशभरका ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलाबाट समसामयिक प्रस्तावहरू पारित गरिनेछन्। भेला सकिएलगत्तै दिउँसो ३ बजे पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको छ।

नेकपा (एमाले) को दुईदिने राष्ट्रिय भेला आज बिहीबार समापन हुँदैछ। पार्टीको संगठनात्मक सुधार, आन्तरिक अनुशासन र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेर बुधबारदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भेला सञ्चालन भइरहेको छ।
देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलाको दोस्रो दिन बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ। आज शीर्ष नेताहरूको सम्बोधनसँगै समसामयिक प्रस्तावहरू पारित गर्ने कार्यसूची छ।
भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका विषयमा धारणा राख्नेछन्। त्यस्तै, वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी पंक्तिमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास बढाउने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आज प्रतिनिधिहरूलाई प्रशिक्षण दिनेछन्। उनले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ शीर्षकमा पार्टीको आगामी जिम्मेवारी र प्राथमिकताबारे सम्बोधन गर्ने तय भएको छ।
बुधबार उद्घाटन सत्रमा ओलीले सम्बोधन गरेका थिए। त्यसपछि महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र आगामी स्थानीय तहको निर्वाचन तयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
उपाध्यक्ष विष्णु पौडेलले भने एमाले सरकारमा सहभागी रहँदा भएका काम र उपलब्धिलाई समेटेर छुट्टै कार्यपत्र पेस गरेका थिए।
भेलामा संगठनलाई थप प्रभावकारी बनाउने, नेता तथा कार्यकर्ताको आचरण सुधार्ने र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीका गतिविधि अघि बढाउने विषयले प्राथमिकता पाएका छन्। आगामी निर्वाचनका लागि संगठनात्मक तयारीलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भइरहेको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आजको कार्यक्रमबाट समसामयिक प्रस्तावहरू पारित गरिनेछ। त्यसपछि दिवा भोजनसँगै राष्ट्रिय भेलाको औपचारिक समापन हुनेछ।
यसैबीच, भेला सकिएलगत्तै आज दिउँसो ३ बजे सोही स्थानमा एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम छ।
केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय भेलाबाट आएका सुझाव, पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






