एमालेको राष्ट्रिय भेलाबाट के–के निर्णय भए?

काठमाडौंमा सम्पन्न नेकपा एमालेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई प्राथमिकता दिएको छ। अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आन्दोलनका लागि समेत तयार रहन निर्देशन दिएका छन्। तीन हजारभन्दा बढी नेता तथा कार्यकर्ता बोलाइएको भेलामा शीर्ष नेताहरूको सम्बोधन केन्द्रमा रह्यो भने सहभागीले प्रत्यक्ष रूपमा आफ्ना धारणा राख्ने अवसर पाएनन्।

रोशन श्रेष्ठ
रोशन श्रेष्ठ
Read this article also in :English हिन्दी
काठमाडौंमा एमालेको राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ता।
एमालेको राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ता।

आगामी निर्वाचनको तयारी, पार्टीभित्रको एकता र आवश्यक परे आन्दोलनमा उत्रिने संकल्पसहित नेकपा एमालेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ। काठमाडौंमा आयोजित भेलाले २१ बुँदे संकल्प तथा प्रस्ताव पारित गर्दै पार्टीका सबै तहलाई संगठन सुदृढीकरण र निर्वाचनको तयारीमा केन्द्रित हुन आह्वान गरेको छ।

स्थानीय तहदेखि प्रदेश, जिल्ला र प्रवाससम्मका नेता तथा जनप्रतिनिधिलाई सहभागी गराइएको भेलामा पार्टीको पछिल्लो अवस्था, आगामी राजनीतिक कार्यदिशा र संगठनलाई सक्रिय बनाउने विषयमा छलफल भएको थियो। यद्यपि, भेलामा सहभागी अधिकांश कार्यकर्ताले आफ्ना धारणा प्रत्यक्ष रूपमा राख्ने अवसर पाएनन्।

विज्ञापन
khoj2

एमालेले भेलालाई पार्टी पंक्तिमा उत्साह जगाउने र आगामी राजनीतिक चुनौती सामना गर्ने तयारीका रूपमा लिएको छ। प्रचार विभाग प्रमुख निरज आचार्यले भेलापछि पार्टी वैचारिक, सांगठनिक र भावनात्मक रूपमा थप एकताबद्ध भएको दाबी गरेका छन्।

भेलाबाट पारित संकल्पमा आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीलाई प्राथमिकता दिइएको छ। साथै, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक प्रक्रियाको रक्षाका लागि आवश्यक परे आन्दोलनको तयारी गर्ने विषय पनि समेटिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन र आन्दोलन दुवैका लागि तयार रहन निर्देशन दिएका थिए। वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले आफू र अन्य नेताहरू पक्राउ पर्न सक्ने तथा संविधानमाथि आक्रमण हुन सक्ने आशंका व्यक्त गरे।

ओलीले अघिल्लो निर्वाचनमा पार्टीले भोगेको क्षतिका पछाडि बाह्य शक्तिको भूमिका रहेको दाबी गर्दै त्यसको सामना गर्न आन्तरिक एकता आवश्यक रहेको बताएका थिए।

भेलामा वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए। उनीहरूले कार्यकर्तालाई निराशाबाट बाहिर निस्केर संगठन निर्माण र आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरे।

संसदीय मोर्चासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका उपाध्यक्ष थापाले आगामी निर्वाचनमा लोकतान्त्रिक दलहरूबीच सहकार्य हुन सक्ने संकेत गरेका थिए। उनले आगामी राजनीतिक प्रतिस्पर्धामा नयाँ राजनीतिक शक्तिहरू र स्थापित लोकतान्त्रिक दलहरूबीच मुख्य प्रतिस्पर्धा हुने आकलन प्रस्तुत गरे।

कार्यकर्ताको सहभागिता सीमित, ओलीको भूमिकामा जोड

देशभरबाट तीन हजार ४१४ जनालाई आमन्त्रण गरिएको भेलामा शीर्ष नेताहरूको सम्बोधन र प्रशिक्षणलाई प्राथमिकता दिइएको थियो। सहभागीलाई मौखिक रूपमा धारणा राख्ने व्यवस्था नगरिए पनि लिखित सुझाव बुझाउन भनिएको थियो।

केही सहभागीले कार्यकर्ताका अनुभव र सुझाव सुन्ने अवसर उपयोग हुन नसकेको टिप्पणी गरेका छन्। तर पार्टीका कतिपय पदाधिकारीले कठिन राजनीतिक परिस्थितिमा विभिन्न तहका नेता तथा कार्यकर्ता एकै ठाउँमा भेला हुनु नै महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

भेलाको अधिकांश कार्यक्रम अध्यक्ष ओलीकै नेतृत्व र सम्बोधनमा केन्द्रित रह्यो। दुई दिनमा उनले छ पटक सम्बोधन गरे। उद्घाटन सत्रदेखि बन्दसत्रसम्म पार्टीको राजनीतिक दिशा र आगामी कार्यभारबारे ओलीले आफ्ना धारणा राखेका थिए।

सहभागीलाई वितरण गरिएको परिचयपत्रमा समेत ओलीको ठूलो तस्बिर राखिएको थियो। यसअघि प्रतिनिधिको तस्बिर रहने परिचयपत्रमा यसपटक अध्यक्षको तस्बिर राखिएको विषय पनि भेलाको चर्चामा रह्यो।

मंसिर २ गते सुरु भएको भेलाको उद्घाटन सत्रमा ओली एकमात्र वक्ता थिए। त्यसपछि बन्दसत्रमा अन्य शीर्ष नेताहरूले प्रशिक्षण तथा राजनीतिक मन्तव्य राखेका थिए। दोस्रो दिन पनि ओलीले विभिन्न चरणमा सम्बोधन गर्दै कार्यकर्तालाई पार्टीको निर्णयअनुसार कार्यक्षेत्रमा सक्रिय हुन निर्देशन दिए।

केन्द्रीय कमिटीबाट तीन निर्णय

राष्ट्रिय भेला सम्पन्न भएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकले संगठन सञ्चालन र आगामी कार्यक्रमसँग सम्बन्धित तीन निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिएका छन्।

बैठकले यसअघि केन्द्रीय कमिटीबाट पारित दुई प्रमुख कार्यभार र १५ वटा काम कार्यान्वयन गर्ने निर्णय गरेको छ। त्यस्तै, संगठनात्मक जिम्मेवारी तथा कार्यविभाजनसम्बन्धी निर्णय गर्ने अधिकार सचिवालय र स्थायी कमिटीलाई दिइएको छ।

अर्को केन्द्रीय कमिटी बैठक आगामी माघको अन्त्यतिर बोलाउने निर्णय पनि भएको छ।

बैठकमा मनोनीत केन्द्रीय सदस्य श्रीप्रसाद शर्मालाई शपथ गराइएको थियो। अध्यक्ष ओलीले बैठक सञ्चालन गर्दै निर्णयबारे जानकारी गराएपछि बैठक समापन भएको थियो।

राष्ट्रिय भेलामार्फत एमालेले संगठनलाई एकताबद्ध बनाउने र आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने सन्देश दिएको छ। तर भेलामा घोषित एकता र उत्साहलाई स्थानीय तहसम्म व्यवहारमा उतार्नु तथा कार्यकर्ताको सक्रिय सहभागिता बढाउनु पार्टी नेतृत्वका लागि आगामी चुनौतीका रूपमा देखिएको छ।