रोगको उपचारभन्दा रोकथाममा जोड दिनुपर्छ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नागरिकको स्वास्थ्य सुधारका लागि उपचारमा मात्र निर्भर नभई रोग रोकथाम र स्वस्थ वातावरण निर्माणमा जोड दिनुभएको छ। राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलनमा उहाँले दीर्घरोग, मानसिक स्वास्थ्य समस्या र वातावरणीय जोखिम न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै, तीनै तहका सरकारबीच समन्वय, दिगो लगानी र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।

रोशन श्रेष्ठ
रोशन श्रेष्ठ
Read this article also in :English हिन्दी
राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलनमा सहभागीहरूको सामूहिक तस्बिर।
स्वास्थ्य प्रवर्द्धन सम्मेलनका सहभागीहरू।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रोगको उपचारमा मात्र केन्द्रित स्वास्थ्य प्रणालीलाई रोकथाम र स्वास्थ्य प्रवर्द्धनतर्फ उन्मुख गराउनुपर्ने बताउनुभएको छ। नागरिकलाई स्वस्थ राख्न अस्पताल र औषधिको पहुँचसँगै स्वस्थ जीवनयापनका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन, २०२६ लाई सम्बोधन गर्दै मन्त्री मेहताले स्वास्थ्यलाई उपचार सेवाको विषयमा मात्र सीमित गर्न नहुने धारणा राख्नुभयो। रोग लागिसकेपछि उपचारमा खर्च गर्नुभन्दा रोग लाग्ने जोखिम कम गर्ने नीति र कार्यक्रम दीर्घकालीन रूपमा बढी प्रभावकारी हुने उहाँले बताउनुभयो।

विज्ञापन
khoj2

नागरिकको स्वास्थ्यमा आर्थिक अवस्था, सामाजिक परिवेश र वातावरणले प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमले यी पक्षलाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री मेहताका अनुसार उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मानसिक स्वास्थ्य समस्या नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको प्रयास मात्रै पर्याप्त हुँदैन। सडक दुर्घटना, वायु प्रदूषण र जलवायु परिवर्तनका कारण बढ्दै गएका स्वास्थ्य जोखिम सम्बोधन गर्न पनि विभिन्न निकायको साझा पहल आवश्यक छ।

यसका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुनुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्यलाई सबै क्षेत्रका नीति तथा विकास योजनासँग जोड्ने ‘सबै नीतिमा स्वास्थ्य’ अवधारणा व्यवहारमै लागू गर्नुपर्नेमा उहाँको जोड थियो।

संघीय व्यवस्थामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी संघ, प्रदेश र स्थानीय तह तीनै सरकारको रहेको मन्त्री मेहताले स्पष्ट पार्नुभयो। विशेषगरी समुदायको आवश्यकता, भाषा, संस्कृति र स्थानीय परिस्थितिअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।

तीन तहका सरकारबीच समन्वय बढाउनुका साथै आवश्यक बजेट, प्राविधिक सहयोग र संस्थागत क्षमता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो।

मन्त्री मेहताले स्वास्थ्य प्रवर्द्धनलाई छुट्टै पेसागत तथा शैक्षिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। यसका लागि दक्ष जनशक्ति तयार गर्ने, अनुसन्धानलाई विस्तार गर्ने र वैज्ञानिक प्रमाणका आधारमा कार्यक्रम सञ्चालन गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।

सम्मेलनमा सन् २०३० सम्म नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता तय गर्ने विषयमा छलफल भएको छ। स्वास्थ्य प्रवर्द्धन प्रणालीलाई बलियो बनाउने, दिगो लगानी सुनिश्चित गर्ने, स्वास्थ्य सेवामा समान पहुँच विस्तार गर्ने र सम्बन्धित निकायको जवाफदेहिता बढाउने विषय पनि सम्मेलनको छलफलमा समेटिएका छन्।