२५ घण्टाका लागि भारत जाँदै बालेन, बन्दै छ नयाँ रेकर्ड?
प्रधानमन्त्री बालेन शाहको छोटो भारत भ्रमणमा मोदीसँग एकल वार्ता, द्विपक्षीय बैठक र संयुक्त परियोजना उद्घाटनको कार्यक्रम प्रस्तावित।

औपचारिक निम्तोमा विदेश भ्रमणमा गएर पनि रेकर्ड बनाउने पहिलो प्रधानमन्त्री बन्दै छन् बालेन शाह। बालेनको यही शैलीका कारण उनी युवा पुस्तामाझ सधैँ लोकप्रिय बनिरहन्छन्।
योभन्दा अगाडि भारतको निम्तोमा भ्रमणमा जाँदा सामान्यतया तीन दिनको समय तोकेर प्रधानमन्त्रीको टोली जाने प्रचलन थियो। तर, यसपटक भने बालेन जम्मा २५ घण्टाका लागि भारत जाँदै छन्।
यही मंसिर ६ गते आइतबार दिउँसो १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको उडानमार्फत उनी भारत प्रस्थान गर्नेछन्।
नेपाली समयअनुसार दिउँसो करिब ३ बजे नयाँदिल्ली पुग्नेछन्। त्यसपछि साँझ केही भारतीय उच्च अधिकारी र नेपाली दूतावासका प्रतिनिधिहरूसँग संक्षिप्त भेटघाट हुनेछ।
त्यसको भोलिपल्ट अर्थात् मंसिर ७ गते बिहान औपचारिक कार्यक्रमको सुरुवातमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेटघाट हुने भनिएको छ।
कार्यक्रमको अन्तिम तालिका सार्वजनिक हुन बाँकी भएकाले यो समयमा हेरफेर हुन सक्छ।
त्यसपछि दिउँसो प्रधानमन्त्री कार्यालय अर्थात् नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गोप्य बैठक अर्थात् ३० मिनेटको वान टु वान वार्ता हुनेछ।
त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा मन्त्री र उच्च अधिकारीहरू सहभागी हुने प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ।
बैठक सकिएपछि जनकपुर–अयोध्या रेल सेवालगायतका परियोजनाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सोही दिन अपराह्न ४ बजेर २० मिनेटमा नेपाल वायुसेवा निगमकै नियमित उडानबाट काठमाडौं फर्किनेछन्।
यसरी आउने र जाने समय घटाउँदा प्रधानमन्त्री बालेन शाह करिब २५ घण्टा मात्रै भारत बस्नेछन् भने यो नेपालका प्रधानमन्त्रीहरूले औपचारिक निम्तोमा गरेको विदेश भ्रमणको इतिहासकै सबैभन्दा छोटो भ्रमण बन्नेछ।
किनकि योभन्दा अगाडिका प्रधानमन्त्रीहरू कम्तीमा तीन दिनको समय लिएर जाने गर्थे। सन् २०१९ मा नरेन्द्र मोदीले प्रधानमन्त्रीको शपथ लिने बेलामा नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पनि निम्तो थियो।
त्यसपछि ओली करिब २६ देखि २७ घण्टा मात्रै भारत बसेका थिए। तर, त्यो भ्रमण दुई देशका प्रधानमन्त्रीबीच अहिलेको जस्तो औपचारिक भेटघाट गर्ने उद्देश्यले भएको थिएन। त्यसैले यसलाई यही श्रेणीमा गन्न मिल्दैन।
खैर, अबको मुख्य प्रश्न भनेको चाहिँ हाम्रो देशका प्रधानमन्त्री कति घण्टा भारत बस्छन् भन्नेभन्दा पनि त्यति घण्टा बसेर देश र जनताको हितमा उनले के–के काम गर्न सक्छन् भन्ने हो।






