सिन्धुलीमा श्रीमानको प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कमलामाई–१० डाँडाटोलमा घरायसी विवादका क्रममा लोहोरो प्रहारबाट ४० वर्षीया सानु कुमारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्रामीण घरअगाडि प्रहरीको गाडी र गोलाकार भागमा देखाइएको ढुङ्गाको लोहोरो।
प्रहरीको गाडी र ढुङ्गाको लोहोरो देखाइएको प्रतिनिधिमूलक तस्बिर।

सिन्धुलीको कमलामाई नगरपालिका–१०, डाँडाटोलमा घरायसी विवादका क्रममा श्रीमानको प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया सानु कुमारी कार्की रहेकी छन्। प्रहरीका अनुसार उनका श्रीमान् ४२ वर्षीय मनोज कार्कीले विवादका क्रममा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए।

विज्ञापन
khoj2

मंगलबार (मंसिर १ गते) राति करिब १ बजे दम्पतीबीच सामान्य विवाद भएको थियो। सोही क्रममा मनोजले सानुको टाउकोमा लोहोरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी राति १ बजेर १५ मिनेटमा प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोजलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।