स्पेनले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। प्रशिक्षक लुइस डे ला फुएन्तेले सार्वजनिक गरेको टोलीमा बार्सिलोनाका धेरै खेलाडी परेका छन् भने इतिहासमै पहिलो पटक रियल म्याड्रिडका कुनै पनि खेलाडी टोलीमा समावेश भएका छैनन्।
युरो २०२४ जिताएको टोलीलाई निरन्तरता दिने प्रयास गरिएको देखिन्छ। चोटबाट फर्किएका केही खेलाडीलाई पनि विश्वकप टोलीमा राखिएको छ।
यामालमाथि सबैको नजर
१८ वर्षीय स्टार लामिन यामाल पहिलो पटक विश्वकप खेल्न लागेका छन्। तर ह्यामस्ट्रिङ चोटका कारण उनले सुरुवाती खेलहरू गुमाउन सक्ने सम्भावना रहेको बताइएको छ।
स्पेनले समूह चरणको पहिलो खेल जुन १४ मा केप भर्डेविरुद्ध खेल्नेछ। यामाल उरुग्वेविरुद्धको अन्तिम समूह खेलसम्म फिट हुने अपेक्षा गरिएको छ।
गाभीको पुनरागमन, फर्मिन बाहिर
लामो समय चोटका कारण मैदान बाहिर रहेका गाभी टोलीमा फर्किएका छन्। उनले सिजनको अन्त्यतिर राम्रो प्रदर्शन गरेपछि प्रशिक्षकको विश्वास जितेका हुन्।
तर फर्मिन लोपेज भने टोलीमा परेनन्। खुट्टा भाँचिएपछि उनको हालै शल्यक्रिया गरिएको थियो।
त्यस्तै निको विलियम्स पनि चोटबाट फर्किने क्रममा भए पनि टोलीमा समेटिएका छन्।
रियल म्याड्रिडका खेलाडी पहिलो पटक बाहिर
स्पेनको विश्वकप इतिहासमा यो पहिलो पटक हो, जहाँ टोलीमा रियल म्याड्रिडका कुनै खेलाडी छैनन्।
डिफेन्डर डिन हुइसेन अन्तिम टोलीबाट बाहिरिएपछि यो अवस्था बनेको हो। यसले स्पेनी फुटबल वृत्तमा निकै चर्चा पाएको छ।
स्पेनको समूह
स्पेन समूह ‘एच’ मा परेको छ। उक्त समूहमा केप भर्डे, साउदी अरेबिया र उरुग्वे रहेका छन्।
विश्वकपअघि स्पेनले इराक र पेरुविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
स्पेनको अन्तिम टोली
- गोलरक्षक : उनाई सिमोन, डेभिड राय, जोन गार्सिया
- रक्षक : मार्क कुकुरेला, आलेहान्द्रो ग्रिमाल्डो, पाउ कुबार्सी, आयमेरिक लापोर्टे, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस लोरेन्ते, पेड्रो पोरो
- मिडफिल्डर : पेड्री, फाबियन रुइज, मार्टिन जुबिमेन्दी, गाभी, रोड्री, एलेक्स बेएना, मिकेल मेरिनो
- आक्रमणकर्ता : मिकेल ओयारजाबाल, डानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियास, भिक्टर मुनोज र लामिन यामाल