साउदीमा हवाई आक्रमण : एक नेपालीको मृत्यु, तीन जना घाइते

साउदी अरबमा पछिल्ला दिनमा भइरहेका हवाई आक्रमणका कारण त्यहाँ कार्यरत नेपाली कामदारसमेत प्रभावित भएका छन्। आक्रमणमा परी घाइते भएका एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मंगलबारको आक्रमणमा घाइते भएका नेपाली कामदारको मृत्यु भएको जानकारी बिहीबार प्राप्त भएको हो। शरीरको ६८ प्रतिशत भाग जलेका उनको अस्पतालमा उपचार भइरहेको थियो।
यमनका हुथी विद्रोहीले प्रहार गरेका मिसाइल तथा ड्रोनलाई साउदी अरबको हवाई रक्षा प्रणालीले रोक्ने क्रममा खसेका अवशेषबाट नेपाली कामदारहरू प्रभावित भएको मन्त्रालयले जनाएको छ।
घाइते तीन नेपालीमध्ये एक जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको अवस्था गम्भीर छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
साउदी अरबस्थित नेपाली दूतावासले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै मृतकको शव नेपाल ल्याउन आवश्यक समन्वय थालेको छ। दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई पनि सतर्क रहन आग्रह गरिरहेको मन्त्रालयले जनाएको छ।
आक्रमणको नेपालद्वारा निन्दा
नेपाल सरकारले साउदी अरबमा भएका पछिल्ला आक्रमणको निन्दा गर्दै नेपाली नागरिकले ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कुनै पनि परिस्थितिमा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई आक्रमणको निशाना बनाउन नहुने नेपालको धारणा छ। सरकारले द्वन्द्वमा संलग्न सबै पक्षलाई अधिकतम संयम अपनाउन र शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेको छ।
साउदी गठबन्धनद्वारा कडा कारबाहीको चेतावनी
पछिल्ला आक्रमणबाट साउदी अरबका तेल प्रशोधन केन्द्र तथा बन्दरगाहसमेत प्रभावित भएका छन्। साउदी ऊर्जा मन्त्रालयका अनुसार बिहीबार जजानस्थित तेल प्रशोधन केन्द्रमा भएको हवाई आक्रमणपछि आगलागी हुँदा केन्द्रको सञ्चालन केही समय रोकिएको थियो।
हुथी विद्रोहीले साउदीका प्रमुख तेल तथा बन्दरगाह पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। यद्यपि जजानमा भएको पछिल्लो आक्रमणको जिम्मेवारीबारे साउदी ऊर्जा मन्त्रालयले स्पष्ट जानकारी दिएको छैन।
यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले भने नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमण स्वीकार्य नहुने जनाएको छ।
गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले त्यस्ता आक्रमणको जवाफ कडा सैन्य कारबाहीमार्फत दिइने चेतावनी दिएका छन्।






