उदयपुरमा माइक्रो बस १५ मिटर तल खस्यो, १० जना घाइते

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बहेर्वा चोकमा मंगलबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।
बेल्टारबाट गाईघाट आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो बस दिउँसो करिब १२ः४० बजे सडकबाट १५ मिटर तल खसेको हो। प्रहरीका अनुसार गाडी अचानक अनियन्त्रित भएपछि दुर्घटना भएको थियो।
माइक्रो बसमा चालकसहित ११ जना सवार थिए। तीमध्ये एक बालिका सकुशल रहेकी छन् भने अन्य १० जना घाइते भएका हुन्।
दुर्घटनामा काठमाडौँ महानगरपालिका–३२ का ४२ वर्षीय चालक कृष्ण केसी, झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईं र उनका १४ वर्षीय छोरा नैन प्रसाईं घाइते भएका छन्।
त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रवीण तामाङ र मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का पनि घाइते भएका छन्।
घाइते हुने अन्यमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम, उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन्।
दुर्घटनामा रेणुका प्रसाईंकी १० वर्षीया छोरी निरुसा प्रसाईं भने सकुशल रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार भइरहेको अस्पतालबारे थप विवरण प्राप्त भएको छैन। दुर्घटनाको यकिन कारण पनि खुलिसकेको छैन।






