प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान, मोदीसँग भोलि भेटवार्ता

प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवाद हुने तय भएको भ्रमणमा प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली गएका हुन्।
प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत प्रस्थान गरेका हुन्। उनलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेल विमानस्थल पुगेका थिए।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन्।
यसैगरी, निजी क्षेत्रका ५२ जना व्यवसायी पनि भ्रमणमा सहभागी हुनेछन्। उनीहरूले आफ्नो भ्रमण खर्च आफैँ व्यहोर्ने जनाइएको छ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।
भ्रमणको मुख्य कूटनीतिक कार्यक्रम सोमबार अर्थात् मंसिर ७ गतेका लागि तय गरिएको छ। प्रधानमन्त्री शाहले भारतीय समयअनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने तय भएको छ भने त्यसअघि वा त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै छलफल गर्ने तयारीसमेत गरिएको छ।
प्रधानमन्त्रीस्तरमा हुन लागेको यो भेटलाई नेपाल–भारतबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा हुने औपचारिक वार्ता र दुई प्रधानमन्त्रीबीचको प्रत्यक्ष संवादमा के–कस्ता विषयले प्राथमिकता पाउँछन् भन्नेमा चासो रहनेछ।






