चार महिनामै ३४ अर्बको मल आयात, विदेशमाथि बढ्दो निर्भरता

कृषि उत्पादन बढाउन नेपालले रासायनिक मल खरिदमा बर्सेनि अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । खेतीपातीमा रासायनिक मलको प्रयोग बढ्दै जाँदा यसको आयातमा खर्च हुने रकम पनि बढिरहेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै नेपालले करिब ३४ अर्ब रुपैयाँको मल आयात गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म २७ करोड किलो मल भित्रिँदा सरकारले करिब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब २० करोड रुपैयाँको २६ करोड किलो मल आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष आयातको परिमाण एक करोड किलो बढ्दा खर्च भने झन्डै नौ अर्ब रुपैयाँले बढेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार व्यावसायिक खेतीको विस्तारसँगै रासायनिक मलको माग बढेको हो । आलु, तरकारी, केरा, उखु तथा हाइब्रिड धान र मकैको खेती विस्तार हुँदै जाँदा परम्परागत गोठेमल, कम्पोस्ट र हरियो मलको प्रयोग भने घट्दै गएको छ ।
युरिया र डीएपीमै ३२ अर्बभन्दा बढी खर्च
नेपालले विदेशबाट ल्याउने मलमध्ये सबैभन्दा ठूलो हिस्सा युरिया र डीएपीको छ । चालु आर्थिक वर्षको चार महिनामा युरिया खरिदमा मात्रै २० अर्ब ३१ करोड ५७ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । यस अवधिमा १७ करोड ७० लाख किलोभन्दा बढी युरिया भित्रिएको छ ।
त्यस्तै, आठ करोड नौ लाख किलो डीएपी आयात गर्दा १२ अर्ब ५४ करोड ४७ लाख २० हजार रुपैयाँ बाहिरिएको छ । मूल्यका आधारमा कुल मल आयातको करिब ९७ प्रतिशत हिस्सा यी दुई प्रकारका मलले ओगटेका छन् ।
मल खरिदका लागि नेपाल मुख्यतः चीन, साउदी अरेबिया, रुस, ओमान, कतार र भारतमा निर्भर छ ।
चार महिनामा चीनबाट करिब ११ अर्ब ३३ करोड र साउदी अरेबियाबाट १० अर्ब ५३ करोड रुपैयाँको मल भित्रिएको छ । रुसबाट करिब पाँच अर्ब, ओमानबाट तीन अर्ब ७४ करोड, कतारबाट तीन अर्ब १३ करोड र भारतबाट २७ करोड रुपैयाँको मल आयात भएको छ ।
मल खरिद गर्न थप १० अर्ब
सरकारले चालु आर्थिक वर्षमा मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको थियो । उक्त रकमले माग धान्न नसक्ने भएपछि थप १० अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको सहसचिव श्रेष्ठले जानकारी दिए ।
यससँगै चालु वर्ष मल खरिदका लागि कुल ४२ अर्ब ४६ करोड रुपैयाँको स्रोत सुनिश्चित भएको छ । बाँकी मल खरिदका लागि आवश्यक टेन्डर प्रक्रिया क्रमशः अघि बढाइने मन्त्रालयले जनाएको छ ।
किसानसम्म अनुदानको मल पुर्याउन सरकारले अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ पनि कार्यान्वयनमा ल्याएको छ ।
कार्यविधिअनुसार संघीय सरकारले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई निश्चित कोटाका आधारमा मल उपलब्ध गराउने व्यवस्था छ । स्थानीय तहले तोकेको कार्यक्षेत्रभित्र कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका डिलरमार्फत किसानलाई मल वितरण गरिनेछ ।
नेपालमै मल कारखाना खोल्ने तयारी
रासायनिक मलको बढ्दो प्रयोगले एकातिर माटोको स्वास्थ्यमा असर पुर्याइरहेको छ भने अर्कोतिर मल खरिद र अनुदानमा राज्यको खर्च बढिरहेको छ ।
यही निर्भरता घटाउन सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने योजनालाई प्राथमिकतामा राखेको श्रेष्ठले बताए । उनका अनुसार लगानी बोर्डमार्फत मल कारखाना स्थापनासम्बन्धी प्रस्तावहरूको मूल्यांकन भइरहेको छ । ग्रिन युरिया उत्पादनको प्रक्रिया पनि अघि बढाइएको छ ।
सरकारले रासायनिक मलको विकल्पका रूपमा प्रांगारिक मल, जैविक मल, हरियो मल, अजोला र बायोचारको प्रयोगलाई समेत प्रोत्साहन गर्ने नीति लिएको छ ।
चालु वर्ष २० देखि २५ पालिकामा माटोको स्वास्थ्य सुधार र १९ देखि २० पालिकामा हरियो मलसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेश तथा स्थानीय तहमा प्रांगारिक खेती प्रवर्धनका कार्यक्रम पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
प्रांगारिक तथा जैविक मलमा केन्द्रबाटै अनुदान उपलब्ध गराउन २५ करोड रुपैयाँको कार्यक्रम ल्याउने तयारी छ । त्यसका लागि आवश्यक कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको श्रेष्ठले जानकारी दिए ।
स्वदेशमै मल उत्पादन गर्ने योजना अघि बढाइए पनि कारखाना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुंगो लागेको छैन । तत्कालका लागि भने किसानको मलको माग धान्न सरकारले विदेशी बजारमै भर पर्नुपर्ने अवस्था छ ।






