चीनबाट फर्किएको टोलीलाई रविको निर्देशन : सिकेका कुरा लागू गर्नू

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
छलफलमा सहभागी रास्वपाको भ्रमण टोली
चीन भ्रमणपछि रास्वपाको टोली छलफलमा।

चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सभापति रवि लामिछानेले भ्रमणका क्रममा हासिल गरेका अनुभव पार्टी सञ्चालन र देश विकासमा उपयोग गर्न निर्देशन दिएका छन्।

महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोलीले शुक्रबार सभापति लामिछानेलाई चीनमा भएका राजनीतिक भेटवार्ता, औद्योगिक विकासको अवलोकन तथा द्विपक्षीय सहकार्यका सम्भावनाबारे जानकारी गराएको हो।

विज्ञापन
khoj2

नोभेम्बर १५ मा चीन गएको २० सदस्यीय टोली सिचुवान, चच्याङ र बेइजिङको भ्रमण सकेर बिहीबार नेपाल फर्किएको थियो।

रास्वपाका अनुसार भ्रमणका क्रममा महामन्त्री आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। उक्त भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि तथा नीतिगत र सांगठनिक अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो।

टोलीले चीनका केन्द्रीयदेखि काउन्टी तहसम्मका राजनीतिक नेतृत्वसँग पनि संवाद गरेको थियो। ती भेटमा सुशासन, विकास र अन्तरपार्टी सहकार्यका साथै नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल भएको आचार्यले सभापति लामिछानेलाई जानकारी गराएका छन्।

राजनीतिक भेटवार्ताबाहेक टोलीले चीनका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अवलोकन गरेको थियो। विपद् आउनुअघिको तयारी र विपद्पछिको व्यवस्थापनमा चीनले अपनाएका रणनीतिबारे पनि टोलीले अध्ययन तथा अन्तरक्रिया गरेको रास्वपाले जनाएको छ।

भ्रमणबारे जानकारी लिएपछि सभापति लामिछानेले चीनमा स्थापित राजनीतिक संवाद र त्यहाँबाट हासिल गरेका अनुभवलाई पार्टीभित्र तथा मुलुकको विकासमा प्रयोग गर्ने गरी कार्यान्वयनमा लैजान महामन्त्री आचार्यमार्फत भ्रमण दललाई निर्देशन दिएका हुन्।